म्याग्दी, १४ भदौ– नेपाल स्वयम्सेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले १ सय ३९ औँ पटक रक्तदान गरेका छन् ।

कर्माचार्यले रक्त सञ्चार सेवा केन्द्र म्याग्दीमा शनिबार १३९ औँ पटक रक्तदान गरेका हुन् । उनले नेपालमा सबैभन्दा धेरैपटक रक्तदान गर्ने रेकर्ड बनाएका छन् । रक्तदानपछि उनलाई नेपाल रेडक्रस सोसाइटी म्याग्दीका सभापति लेखबहादुर हमाल र जिल्ला अस्पतालका डा सन्देश पन्तले सम्मान गरेका थिए ।
जिल्लामा हालै स्थापना भएको रक्तदाता समाजले जो कसैलाई रगतको आवश्यकता परेको अवस्थामा सरल र सहज रूपमा रगत उपलब्ध गराउने बताएको छ ।
जिल्ला अस्पतालका अनुसार म्याग्दीमा हाल मासिक १० देखि १२ पाउण्ड रगत आवश्यक पर्दै आएको छ ।