काठमाण्डु, १४ भदौ– काठमाण्डुको गोलढुंगा र जितपुरफेदी गाविसका बासिन्दाले पासाङ ल्हामु मार्गमा फोहोरो बोक्ने गाडी गुड्न नदिने चेतावनी
दिएका छन् ।
गोलढुंगा एकीकृत ग्रामीण विकास समाज र गोलढुागा–जीतपुरफेदी संघर्ष समितिले शनिबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरी सरकारले आफूहरुको माग सम्बोधन नगरे कडा संघर्षमा उत्रने चेतावनी दिएको हो ।
उनीहरुले काठमाण्डुको फोहोर मैला नुवाकोटको औखरपौवा ल्याण्डफिल साइड लैजाने क्रममा हुने वातावरण प्रदूषण र सवारी दुर्घटना रोक्न पटकपटक ध्यानाकर्षण गराए पनि सम्वद्ध पक्षले चासो नदिएको आरोप लगाए ।
गोलढु्ंगा एकिकृत ग्रामिण विकास समाजका संयोजक सीताराम रेग्मीले फोहोरमैला ढुवानीका कारण सडक आसपासमा सर्वसाधारणले ठूलो पीडा खेप्नुपरेको भन्दै तत्काल ढुवानी बन्द गरेर वैकल्पिक बाटो बनाउन सरकारसँग माग गरे ।
‘दुर्गन्धका कारण त्यहाँ एक सेकेन्ड पनि बस्न सक्ने अवस्था छैन’, रेग्मीले भने, ‘मान्छेको स्वास्थ्यभन्दा ठूलो केही हुँदैन । हाम्रा मागको सुनवाई नभए फोहोरका गाडी गुड्न दिंदैनौं ।’ उनले सरकारले पटकपटक जनाएका प्रतिबद्धता पालना नगरेकाले अब सरकारसँग वार्तामै नबस्ने चेतावनी दिए ।
गोलढुंगा–जीतपुरफेदी संघर्ष समितिका संयोजक बासुदेव लामाले आगामी भदौ १८ गतेबाट सो सडक खण्डबाट फोहोरमैलाको गाडी चल्न नदिने उद्घोष गरे ।