शेरादरबार प्रकरणबारे गृहमन्त्रीले लिए सीआईबीसँग ब्रिफिङ

काठमाण्डु टुडे २०८१ पुष १४ गते १५:१७ मा प्रकाशित

काठमाण्डु, १४ पुस– गृहमन्त्री रमेश लेखकले नुवाकोटको विदुर नगरपालिका–२ मा शेरादरबारको जग्गा निजी कम्पनीले अवैधानिक रुपमा भोगचलन गरिरहेको प्रकरणमा ब्रिफिङ लिएका छन ।

गृहमन्त्री रमेश लेखकले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख एआईजी दिपक थापालाई मन्त्रालयमा बोलाएर अनुसन्धानबारे ब्रिफिङ लिएको गृहमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

गृहमन्त्रीको सचिवालयका एक अधिकारीले एआईजी थापासँग मन्त्री लेखकले शेरादरबारसँगै अन्य विषयहरुमा छलफल गरेको जानकारी दिएका छन ।

त्यसक्रममा एआईजी थापाले ब्यूरोले लामो अनुसन्धानपछि शेरा दरबारको १६३ रोपनी १३ आना जग्गा निजी कम्पनीबाट जफत गरेर सरकारको नाममा ल्याउने प्रक्रिया अघि बढाइएको ब्रिफिङ गरेको स्रोतले जानकारी दिएको छ ।

ब्यूरोले शुक्रबार मात्र जग्गा सरकारको नाममा ल्याउनलाई भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो। पृथ्वीनारायण शाहको शीतकालीन दरबारको रुपमा परिचित नुवाकोटको जग्गा नेकपा माओवादी केन्द्रका नेता विकेश श्रेष्ठ सञ्चालक रहेको अन्नपूर्ण फार्मिङ कम्पनीले भोग चलन गर्दै आएको थियो ।

विकेश श्रेष्ठ कुनै बेला माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव थिए ।

माओवादी शान्ति प्रक्रियामा आउनुअघिदेखि नै प्रचण्डको हेडक्वार्टरमा रहेका उनी माओवादी सत्तामा आएपछि पनि प्रचण्डकै टिममा रहे । उनी माओवादीका पूर्वकेन्द्रीय सदस्य समेत हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us