पत्रकार महासंघ अध्यक्ष निर्मला शर्माद्वारा शंकास्पद पार्किङ प्रकरणमा संसदीय छानबिनको माग

काठमाण्डु टुडे २०८३ असार ३१ गते १२:३१ मा प्रकाशित

काठमाडौं- नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सञ्चारगृह र केही नेताका निवासअगाडि भएको शंकास्पद पार्किङ प्रकरणमा संसदीय छानबिनको माग गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शर्माले घटनाको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष अनुसन्धान अपरिहार्य रहेको बताएकी छन् ।
‘सञ्चारमाध्यमका कार्यालय र सार्वजनिक महत्वका स्थानलाई लक्षित गरी भएको यो घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्छ । आवश्यक परे संसदीय छानबिन गरेर सत्यतथ्य सार्वजनिक गरिनुपर्छ,’ उनले उल्लेख गरेकी छन् ।

सोमबार  अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडियाका कार्यालयअगाडि एकै समयमा उस्तै शैलीमा निजी गाडी पार्किङ गरिएको थियो ।

चालकहरू सम्पर्कविहीन भएपछि सम्बन्धित सञ्चारगृहहरूले प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरीले घटनास्थलबाट सवारीसाधन हटाएर अनुसन्धान अघि बढाएको भए पनि गाडी कसले, किन र कुन उद्देश्यले त्यहाँ पार्किङ गरेको हो भन्ने विषयमा अहिलेसम्म कुनै निष्कर्ष सार्वजनिक भएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us