कर्णालीमा कांग्रेसले तत्काल नयाँ मन्त्री बनाउँदैनः विश्वप्रकाश शर्मा

काठमाण्डु टुडे २०८३ असार ३१ गते १२:५० मा प्रकाशित

काठमाण्डू, ३१ असार– कांग्रेसले कर्णाली प्रदेश सरकारमा मन्त्री बनाउनका लागि तत्काल नयाँ नामहरु नपठाउने जनाएको छ । कर्णाली प्रदेश सरकारबाट कांग्रेसका चार मन्त्रीले बुधबार बिहान सामूहिक राजीनामा दिएका छन् ।

उनीहरुको स्थानमा तत्काल नयाँ मन्त्री बनाउने गरी नामहरु नपठाउने कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिएका छन । ‘कांग्रेसबाट मन्त्री बनेका साथीहरुले राजीनामा दिनुभएको छ ।

कांग्रेसले तत्कालै नयाँ मन्त्री बनाउन सूची भने बुझाउँदैन,’ शर्माले भने । केही समय अघि कांग्रेस र एमाले वीचमा प्रदेश सरकार हेरफेरका लागि संवाद भएको थियो ।

बजेटपछि प्रदेश सरकार हेरफेर गर्ने गरी दुई पक्षको संवाद रोकिएको थियो । प्रदेश सरकारहरुले बजेट ल्याइसकेको हुँदा मुख्यमन्त्रीहरु परिवर्तनको चर्चा सुरु भएको छ । अन्य प्रदेश सरकार परिवर्तन गर्न छलफल हुँदा कर्णालीको पनि टुंगिने उपसभापति शर्माले जानकारी गराए ।

उपसभापति शर्मा विगतमा दुई दलका वीचमा भएको संवादकै निरन्तरताका रुपमा कर्णालीका मन्त्रीहरुले सामूहिक राजीनालाई बुझ्नुपर्ने बताए ।

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई कांग्रेसबाट मन्त्री बनेकोहरु आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण सुरेश अधिकारीले आज राजीनामा दिएका हुन् ।

हाल कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले गरिरहेको छ । कँडेल मुख्यमन्त्री बन्दा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति दुई दलबीच भएको थियो ।

राजीनामा दिएका सुरेश अधिकारीले अनलाइनखबरसँग भने, ‘विगतमा हामीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर एमालेले त्यसमा इमान्दारिता नदेखाएकाले आज चारै जनाले राजीनामा दियौं ।’ कँडेल २०८० साल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us