चौतारा, १४ भदौ– सिन्धुपाल्चोकका अधिकांश क्षेत्रका खानेपानी मुहान तथा धारामा मानव मलमूत्रमा पाइने कोलिफमका जीवाणु भेटिएको छ ।
टुकी संघ सुनकोसीको सुआहारा कार्यक्रमअन्तर्गत गरिएको पानीको शुद्धता परीक्षणका क्रममा उक्त जीवाणु भेटिएको हो । २८ गाविसमा प्रयोग हुँदै आएको २ सय २७ खानेपानी मुहान तथा धारामा परीक्षण गरिएकामा १ सय ११ स्थानमा कोलिफम जीवाणु भेटिएको छ ।
सुआहाराकी सरसफाइ अधिकृत विनिता अधिकारीले सदरमुकाम चौताराका बासिन्दाले पिउँदै आएको खानेपानीको मुहान र धारामा समेत कोलिफमका जीवाणु भेटिएको बताइन् ।