पेटीकोटदेखि परिवार नियोजनका साधनसम्म विश्वविद्यलयको पैसामा

काठमाण्डु टुडे २०७१ भदौ १४ गते २:२६ मा प्रकाशित

काठमाण्डु, १४ भदौ– मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारीहरुले मदिरा सेवन गरेको विल विश्वविद्यालयबाट भुक्तानी गराएका छन् ।
उपकुलपति, रजिष्ट्रारलगायत पदाधिकारीले व्यक्तिगत काम र स्वार्थमा विश्वविद्यालयको बजेट दुरुपयोग गरेका हुन् ।

उपकुलपति पदमलाल देवकोटाले थकाली खाना, चिकेन लगायतका खाना र रुस्लान भोड्का सेवन गरेको विल विश्वविद्यालयबाट भुक्तानी गराएका हुन् । २०७० साल असार २७ गतेको मिति राखिएको ६० हजार ३० रुपैयाँको बिलको भुक्तानी भइसकेको छ ।

विश्वविद्यालयको बजेट दुरुपयोग गर्ने देवकोटा एक्ला छैनन् । रजिष्ट्रार ठकेन्द्र प्रकाश गिरीले एउटा यस्तो बिलको भुक्तानी गरेका छन्, जसमा तत्कालीन प्रधानमन्त्रीको सल्लाहकार पनि जोडिएका छन् । २०६९ भदौं ६ गते ८ हजार ६ सय रुपैंया भुक्तानी भएको बिलमा प्रधानमन्त्रीको सल्लाहकारसँग गणेश रावलले होटलमा बियरलगायतका खानेकुरा खाएको उल्लेख छ ।
त्यतिबेला प्रधानमन्त्री रहेका बाबुराम भट्टराईका को सल्लाहकारसँग मदिरा सेवन भयो भन्नेबारे रावलले बिलमा खुलाएका छैनन् । गत असार ३२ गते पनि बैंठकका नाममा हृवीस्की पिएको र अन्य परिकार भनी बिल पेस छ ।

२०६९ असार मसान्तका दिन अर्को बिल छ, जसमा बैंठक  शीर्षकमा विभिन्न रेष्टुरेण्टमा पेय पदार्थ चुरोटलगायतका नाममा २४ हजार रुपैंयाको बिल भुक्तानी भएको छ । हाफ पाइन्ट र पेटिकोटदेखि परिवार नियोजनका अस्थायी साधन खरिदको खर्चको भुक्तानीमा समेत विश्वविद्यालयको बजेट दुरुपयोग भएको छ’, अख्तियार स्रोतले भन्यो ।

सबैभन्दा बढी बजेटको दुरुपयोग गर्ने उपकुलपति देवकोटाले मन्दिर प्रवेशको शुल्क, बडी स्प्रे, मोबाइल चार्जर र जुत्ताको पालिसको बिल भुक्तानी गराएका छन् । मञ्जन, ब्रस, मोजा, सेभिङ मेसिनलगायतका सामानको बिल करिब ३४ हजार रुपैयाँको छ ।

रजिष्ट्रार ठकेन्द्र गिरीले आँखा परीक्षण एवम् आफन्तलाई रेष्टुरेन्टमा खाना खुवाएको ४५ हजार रुपैयाँको बिल पनि विश्वविद्यालयबाट भुक्तानी गराएका छन् ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us