
काठमाण्डु, १२ भदौ एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले २६ सभासदको मनोनयन आवश्यक नरहेको बताएका छन् ।
ललितपुरको हात्तीवनस्थित आफ्नै निवासमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले २६ सभासद मनोनयन अनावश्यक र वाहियात भएको बताएका हुन् ।
संविधानसभाले काम सक्न लागेकाले २६ सभासद मनोनयनको प्रावधान नै अन्तरिम संधिवानबाट हटाइनुपर्ने उल्लेख गरे । श्रेष्ठले तत्काल संविधान संशोधन गरी उक्त प्रावधान हटाउन माग गरे । ‘२६ सभासद मनोनयनको प्रावधान खारेज गरौं,’ श्रेष्ठले भने, अब समय सकिनेबेला सभासद मनोनयन गर्नुको औचित्य छैन। संविधानका मुलभूत विषयमाथिको छलफल सकिन लागेकाले २६ मनोनयनको औचित्य सकिएको उनको भनाइ थियो ।
यद्यपि उनले उक्त विचार पार्टीको नभइ आफ्नो निजी भएको बताए । उनले सो प्रस्ताव पार्टीमा भने दर्ज गरिसकेको जनाए । त्यसबारे छलफल हुन बाँकी रहेको उनको भनाइ थियो ।