२६ सभासद मनोनयन नभएकामा विपक्षीको आक्रोश

काठमाण्डु टुडे २०७१ भदौ १२ गते १२:२४ मा प्रकाशित

काठमाण्डु, १२ भदौ एकीकृत माओवादी नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले संविधानसभा निर्वाचन सम्पन्न भएको ९ महिना बित्दासम्म संविभानसभाले पूर्णता नपाएको भन्दै आपत्ति जनाएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बिहीबार बसेको मोर्चा बैठकले तत्काल २६ सभासद मनोनयन गर्न सरकारको ध्यानाकर्षण गराएको हो । बैठकले प्रमुख दलबीचको चार बुँदे सहमति पालना गर्नसमेत माग गरेको छ । चार बुँदे कार्यान्वयन नभएसम्म संसद बैठक चल्न नदिने निर्णय भएको एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले जानकारी दिए ।

संसद बैठक भोलि शुक्रबार बस्दैछ । मोर्चाले माग पूरा गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको थियो । पोखरेलले सरकार र सत्तारुढ दल संविधान निर्माणमा गम्भीर नभएको आरोप लगाए । सत्ता पक्ष संविधान बनाउनभन्दा सत्ता लम्ब्याउन लागि परेको आरोप लगाए ।

संसदमा आवाज उठाउँदा माग सम्बोधन नभए सडक संघर्षमा जाने निर्णयसमेत मोर्चाले गरेको छ । मोर्चाको बैठक शुक्रबार पुनः बस्ने पोखरेलले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us