काठमाण्डु, १२ भदौ- उच्चस्तरीय राजनीतिक समिति गठनका विषयमा प्रमुख सत्तारुढ घटक काँग्रेस र एमाले विभाजित भएका छन् ।
प्रधानमन्त्री सुशील कोइरालासहित काँग्रेस नेपाहरु विपक्षीको मागअनुसार समिति बनाउन तयार भए पनि एमालेले अझै त्यसको विरोध गरिरहेको छ ।
काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डबीच बुधबार भएको भेटका क्रममा कोइराला समिति बनाउन सकारात्मक भएका थिए ।
संविधानसभाको समानान्तर हुने गरी उच्चस्तरीय समिति बनाउन नहुने अडान एमालेको छ । संविधानका विवादित विषयमा छलफल गर्न संविधानसभा र विषयगत समितिहरु रहेकाले बाहिर अरु अर्को समिति नचाहिने अडान एमालेको छ । विपक्षीले व्यवस्थापिका संसदको अर्को बैठक बस्नुअघि नै उक्त विषयमा सत्तापक्षको आधिकारिक धारणा माग गरेका छन् ।
देशभरका बाढीपीडितलाई राहत दिने, विगतमा भएका सहमति कार्यन्वयन गर्ने र उच्चस्तरीय समिति बनाउने पिषयमा सत्तापक्ष सहमत नभए शुक्रबारको संसद चल्न नदिने चेतावनी विपक्षीले यसअघि नै दिइसकेका छने ।
यसैबीच प्रधानमन्त्री कोइरालाले संसद बैठकअघि नै एमालेसँग छलफलको तयारी गरेका छन् ।