गहना बेचेर जलविद्युतमा लगानी गर्न महिलालाई उर्जामन्त्रीको आब्हान

काठमाण्डु टुडे २०७१ भदौ ११ गते ९:४५ मा प्रकाशित

काठमाण्डु, ११ भदौ – उर्जामन्त्री राधा ज्ञवालीले महिलाहरुलाई आफ्नो गर–गहना राखेर मुलुकको उर्जा संकट समाधानको लागि उर्जा क्षेत्रको विकासमा लगानी गर्न आब्हान गरेकी छिन् ।

teej1रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको तीज विशेष साक्षात्कारमा उनले तीजलाई भड्किलो बनाउन धेरै खर्च गर्ने र गहनाको प्रर्दशनी गर्नु भन्दा त्यसलाई महिलाहरुले सहकारीमार्फत लगानी गरेर जलविद्युतको विकास गर्नु पर्ने धारणा राखिन् ।

साक्षात्कारमा मन्त्री ज्ञवालीले महिलाहरु सस्कृति, परम्परा जोगाउने नाममा धार्मिक जालोमा परेको भन्दै तिजलाई महिला अधिकार, मुलुकको विकास र समानताकोलागि प्रयोग गर्न सुझाव दिईन् ।

सरकार संविधान बनाउन लागि परेको उल्लेख गर्दै उनले समानुपातिक प्रतिनिधित्वको लागि तीजको अभियानमार्फत दवाव सृजना गर्नु पर्ने बताईन । हामी जसरी भएपनि संविधान निर्माण गर्नुपर्छ भन्ने पक्षमा निरन्तर लागिपरहेका छौं । संविधान सभाभित्र प्रतिनिधित्व गर्ने महिला सभासदहरुले आफ्ना आवाजहरु बुलन्द पार्न जरुरी छ ।

महिला बालवालिका तथा समाज कल्याण मन्त्री निलम केसीले तिजलाई मोजमस्ती गर्ने भन्दा पनि समाज परिवर्तनको लागि प्रयोग गर्न सुझाव दिदै तिजमा खर्च गर्ने रकम बाढी पहिरो पीडित महिला तथा बालबालिकाको उद्दारमा खर्च गर्न आब्हान गरिन ।

उनले भनिन–तीजलाई खर्चिलो नबनाऔं । देशमा ठूलो संकट आएको छ , हामी जस्तै दिदिबहिनीहरु भोकभोकै मर्ने अवस्था छ । त्यसैले हामीले तीजलाई विशेष रुपमा अवसरका रुपमा मनाऔं न कि विकृतिका रुपमा । उनले थपन्–िसरकारले यो तीजको अवसरमा देशभरिका बाढीपहिरो पीडितलाई राहत तथा पूनस्र्थापनाका लागि सवै मन्त्रीहरुले एक महिनाको आधा तलब दिने घोषणा समेत गरेको छ ।

मन्त्री केसीले महिलालाई एउटा रथको दुई पाङग्रा भनिए पनि एक पाङग्रा सानो पारिएको तर्क गर्दै मन्त्री परिषदबाट मनोनित हुने २६ सभासदमा आधा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताईन ।

नेपाली काँग्रेस केन्द्रीय सदस्य सीता गुरुङले तीजलाई रमाईलो मात्र भन्दा पनि महिला मैत्री संविधान निर्माणको अभियानको रुपमा प्रयोग गर्नु पर्ने भन्दै लैङगिक समानताको लागि लड्न आब्हान गरिन ।

राप्रपा नेपाल सभासद कुन्ती शाहीले महिलाको सामाजिक न्यायको लागि लड्न आब्हन गर्दै अब संविधान निर्माणपछि समानतासहितको ७२ सालको तिज मनाउनु पर्ने बताईन् ।
उनले आफ्नो परम्परा सस्कृति जोगाउनै पर्ने भन्दै तिज महिलाहरुको बर्षभरीको पीडा भुल्ने चाड भएकोले सोही अनुरुप करोडौ महिलाको पीडालाई पनि ध्यानमा राख्नु पर्नेमा जोड दिईन् ।

फोरम लोकतान्त्रिक सभासद गीता राणाले तिज महिला मुक्तीको पर्व भएकोले यसलाई महिला अधिकार, शसक्तिकरणको लागि मनाउनु पर्ने बताईन् । राणाले समावेशी समानुपातिक सिद्धान्तका आधारमा महिलाहरुलाई पनि राज्यका हरेक निकायमा समावेश गराउनुपर्ने धारणा राखेकी छिन् ।

नेपाल महिला संघ अध्यक्ष डा. डिला संग्रौलाले तीजलाई राष्ट्रिय भावनाको साथ मनाउनु पर्नेमा जोड दिदै महिला अधिकारको लागि महिलामुखी संविधान निर्माण र २६ मा आधा महिलाको मनोनित हुनु पर्ने बताईन् । त्यसो हुँदा मात्रै संविधान सभामा महिलाहरुको ३३ प्रतिशत प्रतिनिधित्व हुन्छ, नत्र हुँदैन –उनले थपिन् ।

तमलोपाकी केन्द्रीय सदस्य चन्दा चौधरीले तीज महिला अधिकारको दृष्टिले सार्थक बनाउनु पर्ने भन्दै महिलामुखी संविधानसहित ७२ सालको तिज भब्यताकासाथ मनाउने बताईन् । उनले पहिलो संविधानसभामा ३३ प्रतिशत महिलाको सहभागिता भए पनि अहिले नभएको भन्दै अधिकार प्राप्तीको पर्वको रुपमा तिजलाई मनाउनु पर्ने बताईन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us