काठमाण्डु, ११ भदौ– एमाओवादीसहितका प्रतिपक्षी दलले उच्चस्तरीय राजनीतिक संयन्त्र गठनसहितका पूर्वसहमति कार्यान्वय गर्न
सत्तापक्षलाई अल्टिमेटम दिएको छ ।
एमाओवादी अध्यक्ष प्रचण्डले मंगलबार सदनमा शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी नयाँ संविधान निर्माणको वातावरण बनाउनुपर्नेमा सत्तापक्ष उल्टो बाटोमा लागेको आरोप लगाउँदै आगामी बैठकअघि नै सत्तापक्षले पूर्वसहमति पालना नगरे सदन चल्न नदिने चेतावनी दिए ।
संसद्को अर्को बैठक शुक्रबार डाकिएको छ । संविधानसभाको कार्यतालिकाअनुसार अन्तरवस्तुमा सहमति जुटाउनुपर्ने अन्तिम समयसीमाको नजिक पुगेपछि सत्तापक्षले राजनीतिक संयन्त्र गठनको आवश्यकता नभएको ठहर गर्नुलाई प्रचण्डले देश दुर्घटनामा पर्ने संकेतका रुपमा अथ्र्याएका छन् ।
‘राजनीतिक संयन्त्र बनाउँदा संविधानसभाको वैधानिकतालाई कमजोर पार्छ भन्ने दिव्यज्ञान कसरी प्राप्त भयो ?’ उनले भने, ‘चारबुँदे सम्झौतामा हस्ताक्षर गर्दाचाहिँ थाहा थिएन ?’
सहमति जुटाउने समयसीमाभित्रै संविधानका अन्तरवस्तुमा रहेका विवाद समाधानका लागि आफूले पटकपटक गम्भीर छलफल गर्ने प्रस्ताव राख्दा सत्तापक्षले आलटाल गरेको उनको आरोप छ ।
कार्यतालिका कार्यान्वयनको संवेदनशील समयमा सत्तापक्षका नेताहरुमध्ये कोही मानसरोबर र कोही दिल्ली गएको भन्दै उनले रोष प्रकट गरे ।
उनले तिब्बत भ्रमणमा रहेका एमाले नेता माधवकुमार नेपाल र दिल्ली जाने तयारीमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम भने उल्लेख गरेनन् ।
फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले सत्तापक्षको गैरजिम्मेवारीकै कारण माघ ८ मा संविधान जारी हुने सम्भावना टर्ने शंका गरे ।
कान्तिपुर दैनिकबाट