काठमाण्डु, ११ भदौ– भारतीय कम्पनीको कुनै एउटा जहाज १४ वर्षपछि फेरि अपहरणमा पर्न सक्ने मोबाइल सन्देश प्राप्त भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ ।
आईसी ८१४ लाई झैं काश्मिरी मुजाहिद्दिन समूहले काठमाण्डु–नयाँदिल्ली, कलकत्ता, बनारस, बागडोग्रा सेक्टरको कुनै जहाजलाई आफ्नो कुत्सित उद्देश्य परिपूर्तिका निम्ति कब्जामा लिनसक्ने संकेतसहितको एसएमएस पठाइएको थियो ।
यस कामका निम्ति केही आतंककारी काठमाण्डु छिरिसकेको सूचनाअनुसार अघिल्लो शुक्रबार दिउँसो ३ बजे सुरक्षासम्बन्धी बैठक बसेर कठोर निर्णय लिइएको छ ।
शुक्रबारको बैठकपछि एयर इण्डिया, स्पाइस, जेट, इन्डिगो विमानसेवाका कर्मचारीहरुलाई बोलाएर आन्तरिक सुरक्षामा हेलचेक्रयाइ नगर्न भनिएको छ भने उनीहरुसँग १० दिन अगाडिदेखि आगामी एक सातासम्म यात्रुहरुको बुकिङ लिष्ट मागेर प्रत्येक यात्रुको पृष्ठभूमि अध्ययन गरिँदैछ ।
नेपालका नेता र व्यापारीहरुले सानसौकतका निम्तिसमेत प्रयोग गर्ने भीआईपी कक्षमा कडाइ गरिएको छ भने भीआईपी कक्ष उपलब्ध गराउने काम हालका निम्ति रोकिएको छ ।
जनआस्था साप्ताहिकबाट