ऋषि धमलालाई सभासद बनाउन माग

काठमाण्डु टुडे २०७१ भदौ १० गते १३:५७ मा प्रकाशित

काठमाण्डु, १० भदौ–संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलले मन्त्रिपरिषदले मनोनयन गर्ने २६ जनामध्येबाट रिपोर्टर्स क्लबका अध्यक्ष Rishi-Dhamalaऋषि धमलालाई सभासद बनाउन माग गरेका छन् ।
प्रधानमन्त्री सुशील कोइरालालाई मंगबार सामूहिक रुपमा भेटेर १२ वटा साना दलका अध्यक्षले आफूहरुका तर्फबाट २६ जनामा धमलाको नाम पार्न आग्रह गरेका हुन् ।

धमलालाई सभासद बनाउन माग गर्नेमा दलित जनजाती पार्टी, नेपाल परिवार दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाली जनता दल, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल र थरुहट तराई पार्टी नेपाललगायत छन् । उनीहरुको संविधानसभामा २१ सभासद् छन् ।

उनीहरुले राजाको शासनमा लोकतन्त्रका लागि सडक संसद् चलाएर आन्दोलन चलाएको, सबैको साझा फोरमको रुपमा सहमतिको लागि भूमिका निर्वाह गरेको भन्दै धमलाको नाम सिफारिस गरेका हुन् ।
प्रधानमन्त्रीलाई भेटेपछि संयुक्त पत्रकार सम्मेलन गरेर उनीहरुले धमलाको नाम आफूहरुले सिफारिस गरेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा थरुहट तराई पार्टी नेपालका अध्यक्ष गोपाल दहितले आफूहरुले पत्रकारहरुका तर्फबाट उनले खेलेको भूमिकाको सम्मान गर्दै सभासदका लागि नाम सिफारिस गरेको जानकारी दिदै संविधान निर्माणको कार्यतालिका अनुसार संविधान निर्माणलाई अघि बढाउन धमलाले बाहिरजस्तै समन्वयकारी भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरे ।
उनले आफूहरुले प्रधानमन्त्रीलाई सरकारलाई समर्थन गरेका सानादलहरुको तर्फबाट सभासद मनोनयन गर्नु पर्ने र सरकारमा समेत सहभागी गराउनुपर्ने भन्दै नगरे सररकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिए ।
दहितले प्रधानमन्त्रीले चुनाव हारेका र समानुपातिकको सूचीमा परेकालाई २६ मा मनोनित नगर्ने स्पष्ट पारेको जानकारी समेतदिए ।
खुम्बुवान राष्ट्रिय मोर्चा का अध्यक्ष रामकुमार खुम्बुले पत्रकारहरुको प्रतिनिधित्व गराउन धमलाको नाम सिफारिस गरेको भन्दै उनले लोकतन्त्र कठिन अवस्थामा रहेको बेला खेलेको भूमिका र सहमतिको लागि गरेको कामको सम्मान गर्दै ठूला दलहरुले पनि समर्थन गर्नु पर्ने सुझाव दिए ।

नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले ऋषि धमला जस्तो सबैलाई समेट्न सक्ने ब्यक्तित्वको संविधानसभामा आवश्यकता महसुस गरेर उनको नाम सिफारिस गरेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us