काठमाण्डु, १० भदौ– प्रमुख प्रतिपक्षी एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमाले विगतको सहमति पालनामा इमान्दार नभए व्यवस्थापिका–संसदको अर्को बैठक अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।
मंगलबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै उनले सत्ता पक्षले अङ्कगणितीय खेलमा लागेर आफूहरुलाई पेल्न खोजेको आरोप लगाए ।
चार बुँदे सहमतिअनुसार शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न र संविधान निर्माणमा सहयोग गर्न उच्चस्तरीय राजनीतिक सहमति गठन नभए संसद चल्न नदिने बताए ।
‘राजनीतिक समिति नबनाउनु भनेको शान्ति र संविधान निर्माण प्रक्रियाको विरोधमा उभिनु हो’, उनले भने, ‘भित्रभित्रै कुनै खिचडी त पाकिरहेको छैन ? अंकगणितीय रुपमै पेलेरै जान जान सक्छौं भन्ने कुराले काम गरिरहेको त छैन ?’
उनले सत्ता पक्ष र प्रतिपक्ष एकै ठाउँमा बसेर शान्ति र संविधान निर्माण प्रक्रिया निष्कर्षमा पुर्याउने उद्देश्यसहित चार बुँदेमा उच्चस्तरीय राजनीतिक समितिको प्रावधान राखिएको भन्दै काँग्रेस–एमालेले सहमति कार्यान्यवन नगर्ने बताएर राजनीतिक बेइमानी देखाएको आरोप लगाए ।
उनले सत्ता पक्षले पेलेर जान खोजे मुलुक दुर्घटनामा जाने चेतावनी दिए । ‘सत्ताको मात चढेकहरुले पेलेरै जान खोजे देशले अकल्पनीय दुर्घटना ब्याहोर्नेबाहेक अरु केही हुँदैन’, प्रचण्डले भने, ‘अंक गणितका आधारमा एउटा पक्षलाई निषेध गरेर जान खोजे स्थिति भयावाह हुन सक्छ ।’ उनले सरकारले बाढीपहिरो पीडितलाई राहत नदिएको र २६ सभासद मनोनयनमा चासो नदेखाएको बताए ।
‘बजेटलगायत, बाढीपहिरो पीडतलाई राहतसहित हिजो भएका सहमतिका इमान्दारीपूर्ण कार्यान्यवन नभए प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले भन्नु बाध्यछु संसद अघि बढ्न सक्दैन ।’