संविधानका विवादमा समान धारणा बनाएर अघि बढ्ने सत्तापक्षको निर्णय

काठमाण्डु टुडे २०७१ भदौ ९ गते ६:०२ मा प्रकाशित

काठमाण्डु, ९ भदौ– सत्तारुढ काँग्रेस–एमालेसहित साना दल भावी संविधानका विवादित विषयमा समाधान धारणा बनाएर अघि बढ्ने निष्कर्षमा पुगेका छन् ।

प्रधानमन्त्री सुशील कोइरालाको पहलमा सोमबार बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणालीय र न्याया प्रणालीजस्ता विवादास्पद विषयमा समान धारणा बनाएर अघि बढ्ने निर्णय गरेको हो ।

भावी संविधानका विवादित विषयमा सत्तापक्षबीचमै समान धारणा नहुँदा प्रतिपक्षी दलसँग छलफल गर्न समस्या भएको भन्दै प्रधानमन्त्री कोइरालाले बैठक बोलाएको माले महासचिव सिपी मैनालीले बताए ।

‘संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीका विषयमा सरकारमा रहेका दलहरुबीच समान धारणा बनेपछि अरु दलसँग छलफल गर्न सजिलो होस् भनेर बैठक बसेको हो’, मैनालीले भने ।
बैठकमका सरकार सञ्चालनका क्रममा उत्पन्न समस्याबारे समेत छलफल भएको थियो । काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले सरकार सञ्चालनमा देखिएका समस्या सहमतिमै सममाधान गर्ने टुंगोमा पुगिएको बताए ।

उनले विवादित विषयमा सहमति जुटाएर आगामी ८ माघभित्रै संविधान जारी गर्नेमा सत्तापक्ष एकमत भएको पनि बताए ।

उनले संविधानमा एउटै धारणा बनाएपछि एकीकृत माओवादीसहित प्रतिपक्षी दलसँग छलफल हुने जानकारी दिए ।

चार बुँदे सहमति पालना नगरेको भन्दै एकीकृत माओवादीले आइतबार प्रमुख तीन दलको बैठक बहिस्कार गरेको थियो । एमाओवादीले सहमति कार्यान्वयन नभएसम्म काँग्रेस–एमालेसँग वार्तामा नबस्ने चेतावनी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us