ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार गरेको पूर्वमोडलको आरोप

काठमाण्डु टुडे २०८१ कार्तिक ९ गते ११:५८ मा प्रकाशित

एजेन्सी– अमेरीकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक पूर्व स्वीमसुट मोडलले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । यो घटना सन् १९९० को दशकतिर भएको उनले बताएकी छन ।एक अन्तर्वार्तामा स्टेसी विलियम्सले सन् १९९० को दशकको सुरुवातमा ट्रम्प टावरमा रहेको ट्रम्प अफिसमा भएको उक्त घटनाको बारेमा विस्तृत कुरा गरेकी हुन् ।

विलियम्स त्यतिबेला २० वर्ष आसपासको उमेरकी थिइन् र त्यतिबेला उनले जेफरी एप्सटिनलाई डेट गरिरहेकी थिइन् ।सीएनएनका अनुसार उसले यस घटनाबारे विलियम्सका तीन साथीहरूसँग पनि सोधपुछ गरेको छ । तीनै साथीहरूले ट्रम्प र एप्सटिनसँग भएको यो घटनाबारे विलियम्सले उनीहरूसँग क्रमशः सन् २००६, २०१५ र २०१८ मा नै कुराकानी गरेको सुनाएका छन् ।

विलियम्सका अनुसार सन् १९९३ मा उनी र एप्सटिन न्युयोर्क सिटीको फिफ्त एभेन्यूमा हिँडिरहेका थिए । त्यतिबेला एप्सटिनले उनलाई ट्रम्पसँग भेटाउन ट्रम्प टावर लगेका थिए । ट्रम्पले उनीहरूलाई उनको अफिसबाहिर भेटेर स्वागत गरेका थिए ।

‘अर्को सेकेन्डमा उनी मेरो अगाडि थिए । त्यसपछि उनले मलाई आफूतिर ताने, उनको हात ममाथि थियो । त्यसपछि उनको हात त्यहाँबाट हटेन,’ विलियम्सले भनिन्, ‘बिस्तारै ट्रम्पले आफ्नो हात मेरो स्तन, मेरो नितम्बमा पुर्‍याउन थाले ।

म स्तब्ध थिएँ । के भइरहेको छ भन्ने मैले बुझ्नै सकिनँ ।’ ‘ट्रम्पले यसो गरिरहँदा उनी एप्सटिनसँग हाँसेर कुराकानी गरिरहेका थिए ।’एप्सटिनलाई देखाउनकै लागि ट्रम्पले यस्तो हर्कत गरेको विलियम्सको दाबी छ ।

उक्त घटनाको केही दिनपछि ट्रम्पले विलियम्सको मोडलिङ एजेन्सीमा पाम बिचमा रहेको उनको मार–ए–लागो रिसोर्टको तस्बिरसहितको पोस्ट कार्ड पठाएका थिए । जसमा लेखिएको थियो– स्टेसी, तिम्रो घरभन्दा टाढाको घर । धेरै माया, डोनाल्ड । यता, ट्रम्पको अभियानले विलियम्सको आरोपको अस्वीकार गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us