काठमाण्डु, ९ भदौ– भर्याङ् र त्यसको कुनामा कोचिएर राखेको झोला, जुत्ताको लहर ।
हेर्दा लाग्छ, कँही बसाईँ जान ठीक्क पारेको झोला हो । तर त्यो झोला बसाइँ जानको लागि ठीक पारेको होइन ।
महानगरीय ट्राफिक प्रहरी वृत्त सल्लाघारीमा कार्यरत ट्राफिक प्रहरीको कोठामा सामान नअटाएर भर्याटङ्गको खुटकला भरि राखिएको हो ।
सबैको सुरक्षामा खट्ने प्रहरी नै असुरक्षित होला भन्ने महसुस कसैले गरेको हुँदैन, तर यहाँ एउटै कोठामा ३२ प्रहरी जवान ठेलमठेल गर्दै बस्नुपरेको छ । कार्यालय प्रमुख इन्स्पेक्टरले कार्यालय बारेर आफ्नो सुत्ने कोठा बनाएको छ ।
सई र असईको कार्यालय र कोठा एउटै छ । एउटा कोठा रिसेप्सनका लागि छुट्याएको छ । ट्राफिक कार्यालय सल्लाघारीमा ३५ जनाको दरबन्दी छ । तर, कार्यालय र आवास गरी ४ वटा मात्र कोठा लिएको छ ।
खाना पकाउन बाहिर सानो टहरा बनाएको छ । भवन जीर्ण बनिसकेको छ । सरकारले हाइड्रेसन लाइनको सय मिटर वरपर नक्सापाससमेत रोकेको छ ।
तर ट्राफिक कार्यालय हाइड्रेसन लाइन ११ हजार भोल्टको तारको मुनि भएकाले छतमा जानसमेत रोक छ ।
कान्तिपुर दैनिकबाट