काठमाण्डु, ८ भदौ– नेकपा एमालेको राजधानी बिषेश समन्वय कमिटीले देशभर आएको बाढीपहिरोबाट प्रभावित भएकाहरुको राहत तथा उद्धारका लागि प्रतिसदस्य एक सय रुपैयाँ संकलन गर्ने भएको छ ।
उक्त कमिटीको आइतबारको बैठकले उपत्यकाका तीनवटै जिल्ला, बिद्यार्थी र मजदुर विशेष तथा पेशागत महासंघमा आवद्ध कमिटीमा रहेका पार्टी सदस्यसँग एक सय रुपैयाँका दरले राहत उठाउने निर्णय गरेको हो ।
उपत्यकामा एमालेका १७ हजार संगठित सदस्य रहेको राजधानी विशेष कमिटी इन्चार्ज जिवनराम श्रेष्ठले जानकारी दिए ।
उनले राहत संकलनका लागि आगामी शुक्रबार काठमाण्डुको भोटाहिटीमा शीर्ष नेताहरुको उपस्थितिमा विषेश अभियान सञ्चालन गर्ने बताए ।
एमाले राजधानीले आपतमा परेकाहरुको उद्धार, उपचार र राहतमा ध्यान दिन सरकारको ध्यानाकर्षणसमेत गराएको छ । यस्तै एमाले राजधानीले अबिलम्ब स्थानीय निकायको निर्वाचन गराउन सरकारलाई ज्ञापनपत्र बुझो निर्णय गरेको छ ।