काठमाण्डु, ८ भदौ– एकीकृत माओवादी नेता अग्नि सापकोटाले प्रमुख दलबीच भएको चारबुँदे सहमति कार्यान्वयन नभए सत्तारुढ काँग्रेस–
एमालेसँग वार्तामै नबस्ने चेतावनी दिएका छन् ।
राजधानीमा आइतबार आयोजित कार्यक्रममा सापकोटाले ४ बुँदे सहमति तत्काल कार्यान्वयन नभए आफ्नो पार्टी कुनै पनि वार्ता र छलफलमा नबस्ने चेतावनी दिएका हुन् । सहमति कार्यान्वयन नगरेर काँग्रेस–एमालेले संविधान नबनाउने बखेडा झिकेको आरोपसमेत लगाए ।
उनले गणतीय आधारमा संविधानसभामा बलियो भएको दम्भका कारण काँग्रेस–एमाले पूर्वसहमतिबाट पछि हटेको बताए । सापकोटाले काँग्रेस–एमालेकै कारण आगामी माघभित्र संविधान नबन्ने उल्लेख गरे । ‘सत्यनिरुपण तथा मेलमिलाप आयोग बनाउनेजस्ता कुराहरुमा पनि काँग्रेस–एमालेले आलटाल गरिहरेका छन्’, सापकोटाले भने, ‘अनि कहाँबाट माघ गतेभित्रै संविधान जारी हुन्छ ?’
उनले माघ ८ गतेभित्रै संविधान जारी गर्न उच्चस्तरीय राजनीतिक समितिको आवाश्यकता भएको भन्दै विगतमा भएको चारबुँदे सहमति कार्यान्वयन नगरेर काँग्रेस र एमालले जनतालाई संविधान नदिने खेल खेलेको आरोप लगाए । सापकोटाले भने, ‘यदि काँग्रेस–एमाले हाम्रो मागबारे जिम्मेवार भएनन् भने हामी शक्तिशाली जनमत सिर्जना गर्छौं ।’ सापकोटाले सरकार अराजकतातर्फ उन्मुख भएको आरोपसमेत लगाए ।
‘देशमा बाढीपीडितहरु राहत तथा पुर्नस्थापनाका लागि छट्पटाइरहेका छन् तर सरकार कानमा तेल हालेर बसेको छ’, उनले भने, ‘जनताको रोदन र क्रन्दन सरकारले सुन्दैन ।’