काठमाण्डु, ८ भदौ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीसँग हात मिलाउन नपाउने भएका छन् ।
सुरक्षालाई दृष्टिगत गर्दै सरकारले आगामी मंसिरमा हुने सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका बेला मोदीलाई सर्वसाधारणसँग हात मिलाउन नदिने भएको हो ।
गत महिना नेपाल भ्रमणमा आएका मोदीले सिंहदरबारमा प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर संसदलाई सम्बोधन गर्न संविधानसभा भवन जाने क्रममा कारगेट झरेर बानेश्वर चोकमा नेपालीसँग हात मिलाउनुका साथै तस्वीरसमेत खिचाएका थिए । सार्क शिखर सम्मेलनका क्रममा भ्रमणका पनि मोदीले त्यसै गर्न सक्ने भएकाले पूर्वसतर्कता अपनाइएको हो ।
गृह मन्त्रालयमा शान्तिसुरक्षा महाशाखा प्रमुख लक्ष्मीप्रसाद ढकालको संयोजकत्वमा बसेको विशिष्ट ब्यक्तिको सुरक्षा खतरा मूल्याङकन कार्यदलको बैठकले ४ भदौमा सार्क सम्मेलनमा आउने उच्च सुरक्षा जोखिमयुक्त देशका सरकार प्रमुखको सवारीमा १० हजार सुरक्षाकर्मी तैनाथ गर्ने निर्णय गरेको थियो ।
सुरक्षा जोखिमलाई ख्याल गर्दै सरकारले भारतीय प्रधानमन्त्री मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, अफगानिस्तानका राष्ट्रपति हमिद कारजाई, श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजापाक्षे र बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदलाई उच्च सुरक्षा व्यवस्था मिलाउने छ ।
मोदीलाई सर्वसाधारणसँग हात मिलाउने अवसर नदिन सातै देशका सरकार प्रमुख र राष्ट्र प्रमुखको सवारी एकैपटक, एउटै लाइनमा गराउने तयारी गृह मन्त्रालयको छ ।