
काठमाण्डु, २९ असोज–भारत र क्यानडाबीच तनाब थप बढ्ने देखिएको छ ।
भारतले क्यानडाका ६ उच्च कूटनीतिज्ञलाई देश निकालाको आदेश दिएको छ ।
भारतले दिल्लीस्थित क्यानडाका कार्यकारी उच्चायुक्त स्टिबर्ट रोस ह्वीलरसहित ६ जनालाई तत्काल देश छाड्न आदेश दिएको हो ।
भारतीय विदेश मन्त्रालयले उनीहरुलाई १९ अक्टुबरको राति १२ बजे अगावै देश छाडेर जान आदेश दिएको इण्डिया टुडेले जनाएको छ ।
यस्तै उसले टोरन्टोस्थित क्यानडाका लागि उच्चायुक्त सञ्जयकुमार बर्मालाई स्वदेश फिर्ता बोलाएको छ ।
भारतीय मुलका क्यानडाली नागरिक हरदीप सिंह निज्जरको गत वर्ष क्यानडामा हत्या भएको थियो । क्यानडाले उक्त हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएको थियो । पृथकतावादी नेता हरदीप सिंह स्वतन्त्र खालिस्तानको पक्षमा थिए ।
त्यतिबेला क्यानडाले हरदीपको हत्यामा भारतीय उच्चायुक्त सञ्जयकुमार बर्मासहित भारतीय कूटनीतिज्ञ संलग्न रहेको भन्दै भारतलाई कूटनीतिक नोट पठाएको थियो । भारतले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ ।
भारतले क्यानडाले भारतविरोधी पृथकतावादी र अतिवादी शक्ति र व्यक्तिहरुलाई सहयोग गरिरहेको आरोप भारतीय विदेश मन्त्रालयले लगाएको छ ।