डोम समुदायले इनार र धारा छुन पाउँदैनन्

काठमाण्डु टुडे २०७१ भदौ ८ गते ३:१७ मा प्रकाशित

सिरहा, ८ भदौ– सिराहा लालपुरका डोम (मल्लिक) परिवारले अझै पनि पानी भर्न धारा र इनार प्रयोग गर्न पाउँदैनन् ।

कसैले दया गरेर भरिदिए मात्रै उनीहरुले पानी पाउँछन् । गाउँकै देवनाथ साहको इनारमा राखेको मोटरबाट दयामायाले पानी पाउँने गरेको लालपुर-१ का दुर्गी मल्लिकले बताए ।

उनले भने, ‘साहका परिवारले पानी भरिदिनुहुन्छ । त्यही पानीले काम चलाउँदै आएका छौं । त्यहाँ पनि हामीले इनार र मोटर भने छुन पाउँदैनौं ।’ पानी दिएबापत महिनाको दुई सय ५० रुपैंयाँ साहलाई बुझाउँने गरेको दुर्गीले बताए ।

उनले भने, ‘घरनजिक अर्को इनार भए पनि हामीले त्याहाँबाट पानी तान्न पाउँदैनौं । इनार वरपर कोही ‘माथिल्लो’ जातका भए पानी भरिदिन अनुरोध गर्छौ, नभए ठूला जातका केटाकेटीलाई पाँचदस रुपैंयाँ दिएर पानी भर्न लगाउँछौं ।’
पाँच वर्षअघिसम्म दहको पानी पिउँदै आएका डोम परिवारका सदस्यहरुलाई २०५५ सालमा फन्डबोर्ड काठमाण्डुले इनार दिएपछि त्यही इनारको पानी प्रयोग गर्दै आएका थिए । तर दुई वर्षदेखि इनारको पानी पनि सुकेपछि समस्या झेल्नु परेको उनीहरुले बताए ।

त्यसैगरी लालपुर(४ का धनेशर मल्लिकका परिवारले पनि यस्तै समस्या भोग्दै आएका छन् । उनको आफ्नै आँगनमा इनार थियो, तर अहिले इनार सुकेपछि पानीको समस्या झेल्नु परेको छ । इनार सुकेपछि गाउँका अरु इनारमा गएर कसैले भरिदिए मात्रै आफूले पानी पाउँने धनेशरले बताए ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us