काठमाण्डु, ८ भदौ– संसद् सचिवालयसँग ३५ भन्दा बढी सभासद्ले औषधिउपचार खर्च मागेका छन् ।
यसरी उपचार खर्च माग्नेमा दलका शीर्ष नेता पनि छन् । सभासद्ले भिटामिन खान पनि खर्च मागेका छन् ।
सचिवालयले केही सभासद्लाई उपचार खर्च दिने निर्णय शनिबार गरेको छ । भने केहीले नक्कली बिल पेस गरेको भन्दै छानबिन गरिरहेको छ ।
सांसद सुविधा शाखाका अनुसार संघीय समाजवादीका सभासद् डिलराम नेपालीलाई उपचार खर्चका लागि सबैभन्दा बढी तीन लाख ८४ हजार रुपैयाँ दिइएको छ । उनले गंगालाल हृदयरोग केन्द्रमा उपचारका क्रममा गरेको सबै खर्च सचिवालयले तिरिदिएको हो ।
यस्तै सचिवालयले कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि दुई लाख ६५ हजार रुपैयाँ उपचार खर्च दिएको छ । नर्भिक अस्पताल र गंगालाल हृदयकेन्द्रको अतिविशिष्ट क्याविनमा बसेको भाडा खर्च भने सिटौलालाई नदिइएको स्रोतले बतायो ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले उपचारखर्च मागेको निवेदन प्रेस्क्रिप्सन र डिस्चार्जको कागज नआइपुगेको भन्दै सचिवालयमा थन्किएको छ ।
नेता नेपालले वीर अस्पतालमा उपचारका क्रममा एक लाख रुपैयाँ खर्च भएको निवेदन दिए पनि सक्कली कागजान पेस नभएको भन्दै सचिवालयले त्यसै थन्काएको हो ।
अन्नपूर्ण पोष्टबाट