एमालेले ओढायो चरीको शवमा पार्टीको झण्डा

काठमाण्डु टुडे २०७१ भदौ ७ गते ७:२० मा प्रकाशित

काठमाण्डु, ७ भदौ – प्रहरी ‘क्रश फायरीङग’ मा मारिएका डन दिनेश अधिकारी ‘चरी’ को अन्त्येष्टिमा एमालेले पार्टीको झण्डा ओढाएर सम्मान गरेको छ ।

umlपशुपति आर्यघाटमा अन्त्येष्टि अघि एमाले केन्द्रीय सदस्य खेम लोहनीले चरीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका हुन् ।

लोहनीले झण्डा ओढाउँदा त्यहाँ एमाले सभासद धनबहादुर घले, गुरु बुर्लाकोटी, धादिङ अध्यक्ष भूमि त्रिपाठी र अखिलका अध्यक्ष किशोर विक्रम मल्ल समेतको सहभागिता थियो ।

चरीको पार्थिव शरीरमा अर्का डन चक्रे मिलनले समेत श्रद्धान्जली दिए ।

तर,एमाले अध्यक्ष केपी शर्मा ओली गुण्डा नाइके भनिएका दिनेश अधिकारी चरीको अन्त्येष्टिमा गएनन् ।

KP Oli
ओली नगएपछि  एमाले केन्द्रीय सदस्य खेम लोहनीले चरीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका हुन् । चरी एमाले धादिङ क्षेत्र नम्बर–१ का पूर्वउपाध्यक्ष हुन् । चरीको मृत्यु भएको १७ दिनपछि आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदैछ ।

एमाले धादिङ उपाध्यक्ष भुमी त्रिपाठीले अध्यक्ष ओलीसहित शीर्ष नेता अन्त्येष्टिमा सहभागी नहुने बताए । ‘राष्ट्रिय राजनीतिमा समय दिनुपरेकाले व्यवस्तताका कारण उहाँ (ओली) अन्त्येष्टिमा आउनुहुन्न’, त्रिपाठीले काठमाण्डु टुडेसँग भने, ‘हाम्रो लागि राजेन्द्र पाण्डे नै ओली समान हुनुहुन्छ ।’ काठमाण्डु टुडेको एक जिज्ञाशामा उनले ‘जहाँ चरी हुन्छ, त्यहां ओली हुन्छ’ भन्ने गलत सन्देश प्रवाह गरेको भन्दै आपत्ति जनाए । ‘नेपाली मिडियाले ‘जहाँ चरी हुन्छ, त्यहां ओली हुन्छ’ भन्ने जबर्जस्त स्थापित गर्न खोजेको देख्दा अचम्म लाग्छ’, उनले प्रश्न गरे, ‘चरी ओलीका धर्मपुत्र हो र, अन्त्येष्टिमा आउनैपर्ने ?’
बिग्रिएको थियो ओली र चरीको सम्बन्ध
ओलीमाथि पार्टीभित्रैबाट डनवादको संरक्षण गरेको आरोप लाग्दै आएको छ । चरी पनि ओलीकै छत्रछायाँमा गुण्डागर्दीमा संलग्न थिए । हतियार र गैंडाको खागसहित समातिएका बेलासमेत प्रहरीलाई दबाब दिएर चरीलाई छुटाउने गरेका थिए । पछिल्लो समय भने ओली र चरीबीच सम्बन्ध बिग्रिएको थियो । चरी एमाले नवौं महाधिवेशनमा धार परिवर्तन गरेर माधव नेपाल समूहका राजेन्द्र पाण्डे सहितका नेतासँग सम्बन्ध बढाएका थिए । महाधिवेशनका बेला काठमाण्डुको सुनधारामा आफू पक्षधर दुई प्रतिनिधिलाई कुटेपछि ओली चरीसँग आक्रोशित भएका थिए । महाधिवेशनबाट ओली अध्यक्ष निर्वाचित भएपछि चरीले ओलीलाई आफ्नो मुद्धामा सहयोग गर्न टेलिफोनमा आग्रह गरेका थिए । तर उनले ठाडै कानुनी प्रक्रियामा जान सुझाव दिएका दिए ।
यस कारण गएनन् अन्त्येष्टिमा ओली
चरी प्रहरी कारबाहीमा मारिएपछि उक्त घटनालाई दिएर एमालेभित्र स्पष्ट दुई धार देखियो । एउटा पक्षले चरीको सुनियोजित हत्या भएको भन्दै घटनामा संलग्न प्रहरी अधिकारीलाई बर्दी फुकालेर हत्कडी लगाउनुपर्ने माग गर्‍यो । सोही विषयलाई लिएर सडकदेखि सदनसम्म र पार्टी पुख्यालय बल्खुसम्म हंगामा भयो । पार्टी उपाध्यक्षसमेत रहेका गृहमन्त्री बामदेव गौतमले संसदबाटै चरी प्रहरीको जवाफी कारबाहीमा मारिएको बताए ।

घटनाको केही दिन चुपचाप बसेका ओली धादिङका पार्टी कार्यकर्ता र आफन्तले बल्खु मुख्यालय घेराउ गरेपछि मात्र बोले । उनले औपचारिकताका लागि मात्र चरीको हत्या भएको बताए । त्यसपछि उनले चरी प्रकरणमा खासै चर्को रुपमा कुरा राखेको पाइएको छैन । स्रोतका अनुसार गुण्डा नाइकेको छवि बनाएका चरीको अन्त्येष्टिमा जाँदा गुण्डागर्दीलाई संरक्षण गरेको आरोप प्रमाणित हुने डरले ओली आर्यघाट नजाने भएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us