चितवन, ३ भदौ – नेकपा– माओवादी अध्यक्ष मोहन बैद्यले संविधानसभामा दलहरुले संविधान शिर्षकको नाटक मञ्चन गरिरहेको बताएका छन् ।
क्रान्तिकारी पत्रकार महासंघले भरतपुरमा मंगलबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बैद्यले आफ्नो पार्टी लगायत अन्य शक्तिहरुलाई समावेश नै नगरी बनाउन लागिएको संविधान वास्तविक जनताको संविधान नहुने दावी गरे ।
उनले प्रधानमन्त्री सुशील कोइरालाले आफूहरुको माग अनुसार सर्वपक्षीय गोलमेच सम्मेलन गर्ने बताएपनि अहिलेसम्म वास्ता नगरेको बताए । एक महिनाअघि बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले संघर्ष बिना मुलुकले निकास नपाउने भएकाले संघर्ष गर्ने मुद्दा अगाडी बढाउन पार्टी लागिपरेको उल्लेख गरे ।
बैद्यले संविधान निर्माणको बेला राष्ट्रिय सहमति नगरी कुनै पनि सन्धी सम्झौता गर्न नहुनेमा जोड दिए ।
मोदी भ्रमणको बेला सरकारले ४५ दिन भित्र गर्ने भनिएको ऊर्जा व्यापार सम्झौता र उर्जा विकास सम्झौताको आफ्नो पार्टीले विरोध गर्ने बताए । १० वर्ष सशस्त्र संघर्ष गर्नुको मुख्य कारण नै आफ्नो पार्टीले जन गणतन्त्रसहितको संविधान बनाउन चाहेको स्पष्ट पारे ।