कटवालले भने, ‘सेनाको छाती सैनिक मञ्चमा माओवादीलाई पस्न नदिएकै हो’

काठमाण्डु टुडे २०७१ भदौ २ गते १३:१० मा प्रकाशित

काठमाण्डु, २ भदौ – पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवालले आफू प्रधानसेनापति भएपछि माओवादीलाई सेनाको छाती सैनिक मञ्च पस्न नदिएको प्रष्ट पारेका छन् ।

rukmangdaसामाजिक सञ्जालमा आत्मकथामा लेखेविपरीत माओवादी सैनिक मञ्च छिरेको तस्बिर सार्वजनिक भएपछि कटवालले फेसबुकबाट प्रस्टिकरण दिएका छन् ।

‘पुस्तकमा उल्लेखित घटना म प्रधानसेनापति भइसकेपछिको हो। मैले प्रधानसेनापतिको फुली लगाएको २०६३ भदौ अन्तिम साता हो भन्ने प्रसंग त्यसअघिकै अध्यायमा उल्लेख भइसकेको छ,’ उनले उल्लेख गरेका छन्, ‘अहिले सामाजिक सञ्जालमा उल्लेखित घटना २०६३ जेठ १९ गतेको हो, जतिबेला म चिफ भएकै थिइनँ ।’

खुलामञ्चमा गरिएको माओवादीको सभाबाट एउटा हुल अनायास सैनिक मञ्चतिर पनि छिरेको घटना आफू प्रधानसेनापति हुनुभन्दा अगाडिको भएको कटवालले उल्लेख गरेका छन् । ‘मैले थाहा पाएको हुँ। यो कुरा त्यतिबेलाका पत्रपत्रिकाले समेत उल्लेख गरेकै छन् । त्यतिबेला अचानक आइपरेको परिस्थितिबाट ठूलो जनधनको क्षति हुन नदिन सेनाले संयमता अपनाएको थियो,’ उनले भनेका छन्, ‘म चिफ नहुँदाको घटना भएकाले यसबारे पुस्तकमा उल्लेख गरिएको छैन।’

कटवालले पुस्तकमा उल्लेखित सन्दर्भ आफू प्रधानसेनापति भइसकेपछिको भएको बताएका छन् । ‘त्यो घटनालाई लिएर हो जतिबेला माओवादी पार्टीले प्रचण्डको उपस्थितिमा पहिलो आमसभा नै सैनिक मञ्चमा गर्ने तयारी गरेको थियो,’ उनको दावा छ, ‘र, अघिल्लो घटनाबाट पाठ सिकेरै राष्ट्रिय अस्मितामाथि प्रहार हुन नदिन मैले योजनाबद्ध रूपमा सैनिक मञ्चमै गर्न लागिएको सभा त्यहाँ हुन नदिएकै हुँ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us