काठमाण्डु, २ भदौ – हरिसिद्धि, ठैब गाविस सर्वदलीय समिति ललितपुरले गोदावरी क्षेत्रको ६ वटा गाविसहरुलाई समेटेर गोदावरी नगरपालिका घोषणा गर्न सरकारसँग माग गरेको छन् ।
समितिले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरि नेपाल सरकारले उपत्यकाका गाविसहरुको समायोजन गरी नगरपालिका निर्माण गर्ने निर्णय बमोजिम ललितपुरको गोदावरी क्षेत्रको ६ वटा गाविसहरु हरिसिद्धि, ठैब, गोदाबारी, बडिखेल, गोदामचौर, विशंखुनारायणलाई समायोजन गरि गोदावरी नगरपालिका घोषणा गर्न सरकारसंग माग गरेको हो ।
कार्यक्रममा सर्वदलीय समितिका संयोजक दिपेन्द्र श्रेष्ठले सवै राजनीतिक दलहरुको सहमतीकै आधारमा आफूहरुले ललितपुरका ६ वटा गाविसहरुलाई समेटेर गोदावरी नगरपालिका घोषणा गर्न सरकारसंग माँग गरेको बताएका छन् । श्रेष्ठले प्रस्तावित गोदावरी नगरपालिकामा ६ वटा गाविसहरुलाई समायोजन गर्दा भौगोलिक सन्तुलन समेत कायम हुने धारणा राखेका छन् ।
त्यस्तै एमाओवादीका नेता लीलामणि पोखरेलले पनि ६ वटा गाविसहरुलाई अलग बनाएर कुनै पनि हालतमा नगरपालिका बनाउन नहुने धारणा राखेका छन् । पोखरेलले सवै सामाजिक, साँस्कृतिक र धार्मिक सवै दृष्टिकोणले समिश्रित ६ वटा गाविसहरुलाई अगल बनाएर नगरपालिका घोषण गरे आफूहरुलाई मान्य नहुने चेतावनी दिएका छन् । उनले भने–६ वटा गाविसमध्ये गोदावरी र हरिसिद्धिलाई अलग बनाउने षड्यन्त्र भैरहेको छ, यी दुई गाविसलाई छुटाएर नगरपालिका घोषणा गरे आत्मघाती हुन्छ ।
नेपाली काँग्रेसका ललितपुर क्षेत्र नं. ३ का अध्यक्ष गजेन्द्र महर्जनले पनि ६ वटा गाविसहरुको संयोजनमा नगरपालिका निर्माण गर्नुपर्ने धारणा राख्दै आफूले सोही अनुरुपको दबाब पार्टीमा दिने पनि बताएका छन् । महर्जनले सरकारले ६ वटा गाविसहरुमध्ये एउटालाई पनि अलग बनाएर नगरपालिका घोषणा गरे आफूहरुलाई मान्य नहुने चेतावनी दिएका छन् ।
कार्यक्रममा राप्रपा नेपालका केन्द्रीय सदस्य बाबुकाजी प्रधान, राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रीय सदस्य दीपराम महर्जन, नेकपा एमाले हरिसिद्धि गाउँ कमिटीका अध्यक्ष गणेश महर्जन लगायतले ऐक्यबद्धता जनाउँदै प्रस्तावित नगरपालिकामा ६ वटा गाविसहरुलाई समायोजन गर्नुपर्ने धारणा राखेका छन् ।