प्रधानलाई आयुक्त नियुक्त गरे ५१ प्रतिशत महिलाको अपमान हुन्छ: रोशन कार्की

काठमाण्डु टुडे २०८१ साउन १४ गते १४:०१ मा प्रकाशित

काठमाण्डु, १४ साउन– राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका यौन शोषणको आरोप लागेका कृष्णमान प्रधानलाई नियुक्त गरे ५१ प्रतिशत महिलाको अपमान हुने बताएकी छन ।

आज बसेको प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले प्रधानलाई नियुक्ति गरे त्यो संविधानको धारा २४५ को उपधारा ६ विपरीत हुने पनि बताएकी छन । उनले भनिन्, ‘कृष्णमान प्रधानमाथि एक महिलालाई लामो समयसम्म यौन शोषण गरेको आरोप लागेको छ ।

ती महिलाले संसदीय समितिमा उजुरी दिएकी छन् र तिनको भनाई अनुसार अदालत गुहारेर किस्ताबन्दीमा एक करोड २५ लाख रुपैयाँ तिरेको रसिद रहेको छ, ‘त्यस्तो आरोप लागेका प्रधानलाई नियुक्ति गरियो भने ५१ प्रतिशत महिलाको अपमान हुन्छ ।’

उनले यौन शोषण गर्ने व्यक्ति उच्च नैतिक चरित्रको हुन नसक्ने भन्दै प्रधानलाई समितिले नालायक घोषणा गर्नुपर्ने पनि बताएकी छन । प्रधानमाथिको संसदीय सुनुवाइ सकिएको छ । आज बस्ने समितिको बैठकले प्रधानलाई नियुक्त गर्ने नगर्ने निर्णय गर्दैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us