भक्तपुर, १३ साउन- टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाण्डूबाट भक्तपुरतर्फ जाँदै गरेको ग७प ५३५३ नम्बरको मोटरसाइकललाई बा४ख २९०१ नम्बरको टिपरले मध्यपुरथिमि-४ नयाँ थिमिमा पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–१ घर भई हाल भक्तपुर कमलविनायक बस्ने अन्दाजी २१ वर्षीय सुभाष तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए।
मोटरसाइकल पछाडि सवार काभ्रेपलाञ्चोक महाकाल गाउँपालिका–६ घर भई हाल कमलविनायक बस्ने २० वर्षीय सञ्जीव थापा मगर घाइते छन्। उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिए।
प्रहरीले दुर्घटनामा संलग्न टिपर र चालक काभ्रेपलाञ्चोक मण्डनदेउपुर–६ बस्ने २८ वर्षीय राजकुमार राईलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरू गरेको कार्कीले बताए।