भूमि मन्त्रालयलाई आवश्यकता अनुसार बजेट अपुग छ: मन्त्री अधिकारी

काठमाण्डु टुडे २०८१ असार ६ गते १५:४४ मा प्रकाशित

काठमाण्डु, ६ असार– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रालयको आवश्यकता परिपूर्ति गर्न बजेट अपुग भएको दाबी गरेका छन ।

आज (बिहिबार) प्रतिनिधि सभाको बैठकमा भूमि व्यवस्था मन्त्रालयका लागि विनियोजित बजेटमाथि उठेका प्रश्नमा जवाफ दिँदै मन्त्री अधिकारीले यस्तो बताएका हुन ।

उनले मन्त्रालयलाई चाहिने जति बजेट अपुग भएको बताएका छन । सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि भुमी मन्त्रालयका लागि ६ अर्ब ८२ करोडको रुपैयाँ बजेट विनियोजन भएको छ ।

यो बजेटबाट मन्त्रालयको ४ महाशाखा र १३५ नापी र १३५ मालपोत गरी २७० कार्यालय सञ्चालन गर्नुपर्ने मन्त्री अधिकारीले बताएका छन । यस्तै मन्त्रालय मातहतमा ७ हजार जनशक्ति परिचालित छन् । सोहीकारण मन्त्रालयलाई चाहिने जति बजेट नपुग्ने मन्त्री अधिकारीको भनाई छ ।

यसमा बजेट आवश्यकताअनुसार अपुग भइरहेको छ । अधिकारीले अर्थ मन्त्रालयपछि सबैभन्दा धेरै राजश्व संकलन गर्ने मन्त्रालयको सूचीमा भूमि व्यवस्था मन्त्रालय रहेको बताएका छन् ।

चालू आर्थिक वर्ष २०८०–८१ को यो अवधिसम्म भूमि व्यवस्था मन्त्रालयले ३८ अर्ब रुपैयाँ राजश्व संकलन गरेको मन्त्री अधिकारीले बताए । मन्त्रालयले ३० लाख सेवाग्राहीलाई सेवा दिएको समेत उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us