गिरिबन्धु टिस्टेट जग्गा प्रकरणमा छानबिन समिति गठन गर्न विश्वप्रकाशको माग

काठमाण्डु टुडे २०८१ असार ६ गते १५:३३ मा प्रकाशित

काठमाण्डु, ६ असार– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरिबन्धु टिस्टेटको जग्गामा काँग्रेसले कमिसन खाएर बेचेको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।

आज बिहीबार काठमाण्डुमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले अध्यक्ष ओलीलाई यस्तो चुनौती दिएका हुन ।

उनले ०५२ सालमा एमालेकै सरकार रहेको, २०६० सालको सरकार सूर्यबहादुर थापाको सरकार रहेको तर काँग्रेसले भूमि सुधार मन्त्रालयको जिम्मा नलिएको र ०७८ सालमा केपी शर्मा ओलीकै सरकार रहेको भन्दै गिरिबन्धु प्रकरणमा काँग्रेसले यदि कुनै जग्गा कमिसन खाएर बेचेको एक टुक्रा माटो भए गिरिबन्धुको फाइल खोल्न र छानबिन समिति बनाउन आग्रह गरेका छन ।

शर्माले ओलीले आवेगले प्रश्न उठाएको भन्दै उनले आवेगले उठाएको प्रश्नलाई विवेकले जवाफ दिन काँग्रेस पछि नपर्ने बताएका छन । उनले भने, ‘हामीमा आवेग कतिसम्म छ भने, तपाईँहरूले सुन्नुभयो नि । भर्खरै केपी कमरेडले फेरि पनि भन्नुभयो की, गिरिबन्धु प्रकरणमा काँग्रेसले ९१ बिगाहा जग्गा बेचेर कमिसन खायो । त्यो कपी कमरेडमा रहेको अधिकतम आवेगको कुरा हो ।

गिरिबन्धु प्रकरणमा काँग्रेसले यदि कुनै जग्गा कमिसन खाएर बेचेको कतै एक टुक्रा माटो छ भने तपाईं पनि झापाको मान्छे, म पनि झापाको मान्छे, म आग्रह गर्न चाहन्छु, सरकारमा तपाईंहरु हुनुहुन्छ, खोल्नुस् गिरिबन्धुको फाइल र बनाउनुस् छानबिन समिति ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us