खेलकुदमन्त्रीलाई धनराज गुरुङको व्यंग्यः कडा कुरा गरौं भने खल्तीबाट राजीनामा निस्किएला !

काठमाण्डु टुडे २०८१ असार ५ गते १४:३९ मा प्रकाशित

काठमाण्डु, ५ असार– काँग्रेस सांसद् धनराज गुरूङले युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठप्रति प्रतिनिधिसभा बैठकमा ब्यंग्य गरेका छन् ।

विनियोजन विधेयकअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथि छलफलका क्रममा बुधबार गुरुङले राजीनामा खल्तीमा राखेर हिंडेको भन्दै श्रेष्ठको अभिव्यक्तिप्रति व्यंग्य गरेका हुन् ।

राजीनामापत्र पानीले भिज्ने हो कि भन्ने चिन्ता लागेको उनको भनाइ थियो । गुरूङले २०८४ को चुनाव अघिसम्म राजीनामा पत्र खल्तीमै सुरक्षित राख्न मन्त्री श्रेष्ठलाई सुझाए ।

‘युवा तथा खेलकुद मन्त्रीले खल्तीमा राजीनामा पत्र बोकेर हिँड्नु भएको छ । त्यसैले कडा बोल्नु भएन । कडा बोल्दा खल्तीबाट खुत्रुक्क राजीनामा पत्र निस्कियो भने गाह्रो होला’, गुरुङले भने, ‘राजीनामापत्र खल्तीमा बोकेर नहिंड्नुस् पानीले भिज्ला । पानीमा भिज्यो भने च्यातिन्छ । नच्यातिओस् भन्ने मेरो कुरा हो । सुरक्षित नै राख्नुहोस् ।’

रास्वपा स्थापना दिवसका अवसरमा केही दिनअघि आयोजित एक कार्यक्रममा श्रेष्ठले सरकारले राम्रो काम गर्न नसकेको भन्दै आफूहरु राजीनामा खल्तीमा राजीनामापत्र हालेर हिंडेको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us