काठमाण्डु, ५ असार– स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध आक्रोश पोखेका छन् ।
प्रतिनिधिसभा बैठकमा बुधबार आकस्मिक समयमा बोल्दै उनले कवाडी व्यवयासीलाई सताएको भन्दै बालेनविरुद्ध आक्रोश पोखेका हुन् । \
उनले कवाडी व्यवसायीलाई बालेनको घर अगाडि फोहोर थुपार्न उक्साए । ‘बालेन जी (यहीँको मेयर) ले सिकाएको छ कि यदि काम भएन भने त्यहाँ नै फोहोर थुपार्ने । म यही संसद्मार्फत तमाम कवाड व्यवसायीहरूलाई आग्रह गर्न चाहन्छु’, सिंहले भने, ‘सबै फोहोर महानगरपालिका र बालेन साहको घरको अगाडि थुपारौं ।’
सिंहले उक्त कार्यमा कवाडी व्यवसायीलाई आफ्नो साथ रहने बताए । त्यस्तो काम बालेनले नै सिकाएको भन्दै ‘टिट फर ट्याट’ गर्नुपर्ने जनाए । सिंहले बालेनलाई पपुलिस्टको आडमा तानाशाह बन्न खोेजेको उल्लेख गरे । हिटलर पनि निर्वाचित तानाशाह भएको सिंहको भनाइ थियो ।
‘आज पपुलिज्मको अवस्थामा हामी ताली बजाइरहेका छौं’ सिंहले भने, ‘बालेनले पनि नेपाललाई जर्मनी बनाउन खोजेको हो ?’ । पपुलिज्मको आडमा न्याय समाप्त पार्न बालेन उद्धत रहेको आरोप उनले लगाए । गणतन्त्रमा गरिब र निर्धाले पनि कानूनी राज्यको महसुस गर्न पाउनुपर्ने बताए ।