काठमाण्डु, ४ असार– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद एवं सचेतक ज्ञानेन्द्र शाहीले भौतिक योजना तथा निर्माण मन्त्री रघुवीर महासेठलाई नेपालको मन्त्री कि धनुषाको मात्र मन्त्री बनेको हो भनेर प्रश्न गरेका छन ।
आज (मंगलबार)को प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले यस्तो प्रश्न गरेका हुन । उनले भने, ‘सभामुखमार्फत भौतिक मन्त्रीलाई भन्न चाहन्छु तपाई नेपालको मन्त्री हो की धनुषाको मन्त्री ?’, शाहीले प्रश्न गर्दै भने, ‘यदि संसदमा कर्णालीलाई अपमान गर्नुहुन्छ भने तपाईँहरूले आफ्नो भाषा निर्माण गर्नुस् ।’
उनले जुम्लाको सिञ्जाबाट आएको भाषाको अपमान गरिएको भन्दै धनुषाको ३ र ४ नम्बर निर्वाचन क्षेत्रमा भौतिक तथा पूर्वाधार मन्त्रालयले ८ अर्ब ४ करोड ७७ लाख बजेट विनियोजन गरेको, झापामा ६ अर्ब ७० करोड गरी १५ अर्ब ४७ करोड ४९ लाख रुपैयाँ झापा र धनुषामा मात्रै छुट्टाएको तर सिङ्गो कर्णालीका १० वटा जिल्लालाई ७ अर्ब ३६ करोड ४८ लाख १४ हजारमात्र विनियोजन गरेकोमा आपत्ति व्यक्त गरेका हुन ।
उनले भौतिक मन्त्रालय अन्तर्गत १५० अर्ब ५३ करोडेको बजेट भइरहँदा झापा र धनुषाले १० प्रतिशत भन्दा बढी झापा र धनुषाले पाएको भन्दै कर्णालीले ४.८९ प्रतिशत मात्र पाएको बताएका हुन । उनले भौतिक मन्त्री नेपालको हो वा धनुषा र झापाको भन्दै कर्णालीलाई यसरी विभेद गर्न नपाइने बताए ।