
काठमाण्डु, २ जेठ– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा आफूले पहिला बोल्न पाउनुपर्ने बताएका छन् ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँगको छलफलपछि प्रधानमन्त्री कार्यालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग उनले सहकारी ठगीका विषयमा आफूमाथि उठेका प्रश्नको जवाफ दिन पाउनुपर्ने बताए ।
लामिछानेले आफूले बिहीबारेको संसद बैठकमा बोल्न पाउने विश्वास व्यक्त गरे । काँग्रेसले आफ्नो जवाफ चित्त नबुझे फेरि विरोध गर्न पाउने अधिकारको सम्मान गर्ने लामिछानेको भनाइ थियो । लामिछाने सहकारी ठगीमा संलग्न रहेको आरोप लगाउँदै काँग्रेसले उनीमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राखेर लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
‘पहिला मैले बोल्न पाउनुपर्छ । त्यसपछि जवाफ चित्त बुझेन भने उहाँहरूको विरोध गर्ने अधिकारको पुरै सम्मान गर्छौँ’, लामिछानेले भने, ‘भोलि बोल्न पाउनुपर्छ भन्ने हाम्रो भनाइ हो । मैले त पहिल्यैदेखि नै त्यो कोसिस गरिरहेको छु ।’ लोकतन्त्रको अभ्यास गर्न कांग्रेसजस्तो पार्टी चुक्न नहुने तर्क लामिछानेले गरे ।