
काठमाण्डु, २ वैशाख– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नाउपाका अर्का सांसद कैलाश चौधरीले पनि दाबी पेश गरेका छन् । उनले एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका छन ।
सुदूरपश्चिम प्रदेशसभामा एमालेका १० जना र नेकपा माओवादी केन्द्रका सभामुखसहित ११ जना सांसद रहेका छन । कैलाश चौधरीलाई स्वतन्त्र सांसद तारा जोशीले पनि समर्थन गरेका छन् ।
प्रदेश प्रमुख नजिर मियाले अर्को पक्षले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेकाले कानुनी परामर्शपछि निर्णय गर्ने जानकारी दिएका छन । नाउपाकै लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
५३ सदस्यीय प्रदेशसभामा बझाङबाट निर्वाचित पृथ्वी सिंहको निधन भएको छ भने नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद इन्दिरा गिरीलाई कारबाही गर्ने निर्णय गरेको छ । त्यसैले प्रदेशसभामा बहुमत सिद्ध गर्न २६ सांसदको समर्थन भए पुग्छ ।