
काठमाण्डु, २४ मंसिर– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले स्वतन्त्र सांसद् अमरेशकुमार सिंहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ ।
प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले सञ्चारकर्मीहरुको ह्वाट्स एप ग्रुपमा सेयर गरेको बेनामे विज्ञप्तिमा सिंहले आफ्नो निहित स्वार्थ पूरा नभएका कारण सिंहले प्रधानमन्त्री, उनको परिवार र सचिवालयविरुद्ध अनर्गल र भ्रामक प्रचार गरेको उल्लेख छ ।
‘अमरेशकुमार सिंहले आफ्नो निहित स्वार्थ पूरा नभएपछि सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको परिवार र सचिवालयका विरुद्ध विद्वेषपूर्ण ढंगले अनर्गल, भ्रामक प्रचार र झुठको खेती गर्दै आएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘उनको यो अस्वाभाविक प्रस्तुति र अराजनीतिक बार्गेनिङ सरकारको पूर्णतासँगै सुरू भएको तथ्य स्पष्ट नै छ ।’
सिंहले लगाएका निन्दनीय आरोप र गतिविधिको घोर भर्त्सना गर्दै प्रचलित विधि र कानुनअनुसार उपचार खोज्न सम्मानित प्रतिनिधिसभाको ध्यानाकर्षण गराइने समेत विज्ञप्तिमा छ ।
देशलाई ठग्ने उद्देश्यले एनसेल बिक्री गरेको घटनालाई सरकारले गम्भीरतापूर्वक लिई अध्ययन र छानबिनको प्रक्रिया अघि बढाइसकेको अवगत सबैलाई भएको भन्दै प्रधानमन्त्री कोप–२८ मा भाग लिन दुबईमा रहेका बेला गरिएको यो किनबेचको प्रपञ्चलाई उनी नेपाल आउने बित्तिकै छानवबन र कार्बाहीको प्रक्रिया अघि बढाइएको स्मरण गराइएको छ ।
छानबिन समितिको अध्ययन र छानबिनपछि सरकारले प्रचलित कानुनबमोजिम देशको स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर आवश्यक निर्णय लिने प्रधानमन्त्रीको सचिवालयले स्पष्ट गरेको छ । ‘सत्य एकातर्फ छ, तर अमरेश सिंहजस्ता जनप्रतिनिधि भन्न पनि लाज लाग्ने प्रतिनिधिको अर्कोतर्फ निन्दनीय प्रलाप छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यो पूर्णतः झुठ कपोलकल्पित र व्यक्तिको इज्जत र प्रतिष्ठामाथि गम्भीर आँच पुर्याउने एवं कानुनी राज्यमाथि नै चुनौती दिने प्रकृतिको छ ।’
विगत केही समयदेखि अराजनीतिक व्यक्ति र समूहले प्रधानमन्त्री र सचिवालयसँग अनुचित माग र बार्गेनिङ गर्ने र त्यस्तो स्वार्थ पूरा नभएपछि श्रृंखलाबद्ध दुस्प्रचार गर्ने गरेको दाबी विज्ञप्तिमा गरिएको छ ।
प्रधानमन्त्रीज्यूको सचिवालयका सदस्यहरू सबै प्रकारका कू–प्रचार, आरोप र चुनौतीहरु सामना गर्न तयार रहेको भन्दै छानबिन समितिले निर्धारित समयमा काम गर्ने र सत्य सबैसामु ल्याउने तथा दोषी कोही नछुट्ने प्रतिबद्धता जनाइएको छ ।