
लमजुङ ,२४ मंसिर– लमजुङको सुन्दर बजार नगरपालकामा क्रिसमसको अवसरमा सामूहिक भोज खाएका ३१ जना विरामी परेका छन् । जसमध्ये एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा सुन्दर बजार नगरपालिका– ९ बस्ने ३२ वर्षीया देवी परियार रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता इन्स्पेक्टर थानेश्वर चपाईँले जानकारी दिएका छन । सुन्दर बजार नगरपालिका– ८ मा २२ गते रातिसम्मै क्षेत्रबहादुर गुरुङको घरमा क्रिसमसको अवसरमा सामूहिक भोजको आयोजना गरिएको थियो ।
सो भोज खाएर फर्केकाहरुमा शनिबारदेखि पखला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने समस्या देखिएको लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिएका छन । सामूहिक भोज खाएर गम्भीर विरामी परेका ३ जनालाई पुरानो मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ भने बाँकीको नमूना सुन्दर बजारमा उपचार भइरहेको अधिकारीले जानकारी दिए ।
सामूहिक भोजमा मासु, भात, दाल, तरकारी, मुलालगायतको अचार खाएको पाइएको प्रहरीले जानकारी दिएको छ । भोजमा प्रयोग भएको खाद्यन्नको नमूना संकलन गरिसकिएको छ । नमूना पहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँमा पठाइने र त्यहाँ पनि पत्ता नलागे काठमाठौं पठाउने सिडिओ अधिकारीले जानकारी दिएका छन ।