
काठमाण्डु,२४ मंसिर– नेपाली क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा कानुन व्यवसायीको तर्फबाट स्थगित भएको छ । चितवनमा नेपाल बार एसोसिएसनको सम्मेलनका कारण अधिवक्ता उपस्थित हुन नसक्ने भएपछि मुद्दा स्थगित भएको हो ।
आज (आइतबार) लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पेसी तोकिएको थियो । लामिछानेका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेका अनुसार अन्तिम सुनुवाइका लागि पेसी तोकिएकोमा शम्भु थापा लगायतका कानुन व्यवसायीहरू उपस्थित हुन नसक्ने भएपछि मुद्दा स्थगित भएको हो ।
२३ कात्तिकमा काठमाण्डु जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षसँग बहस नोट माग गरेको थियो । दुवै पक्षबाट बहस नोट पेस भएपछि आइतबार सुनुवाइका लागि पेशी तोकिएको थियो ।
आइतबार दुवै पक्षले बहस नोटमा जिकिर लिएका विषयलाई थप प्रस्ट पार्न अन्तिम सुनुवाइ गर्नुपर्ने थियो । त्यसपछि न्यायाधीशले आफ्नो फैसला सुनाउने वा निर्णय सुनाउन अर्को पेसी तोक्न सम्भावना रहन्थ्यो ।
प्रतिवादी रहेका क्रिकेटर सन्दीप लामिछानेका कानुनी सल्लाहकार अधिवक्ता सरोजकृष्ण घिमिरेका अनुसार धेरै जसो कानुन व्यवसायीहरू बार सम्मेलनमा रहेको कारण आजको पेसी स्थगित भएको हो । सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा हाल उमेर विवाद नै मुख्य विषय बनेको छ ।