जनतासँग जोड्न सकेमात्र कांग्रेस परिवर्तन हुन्छ: कोइराला

काठमाण्डु टुडे २०८० मंसिर २३ गते १६:२५ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर– कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र परिवर्तन हुने बताएका छन । आज शनिबार चितवन–काठमाण्डु प्रजातान्त्रिक सङ्गमको ३३ औँ वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन । उनले पार्टीलाई परिवर्तन गर्दै बलियो बनाउनका लागि जनतामाझ जानुपर्ने बताएका छन ।

उनले भने, ‘देशलाई सम्हाल्ने लोकतान्त्रिक पार्टी कांग्रेस हो । कांग्रेस परिवर्तन नभई मुलुक परिवर्तन हुन सक्दैन । कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र पार्टी परिवर्तन भएर अगाडि बढ्न सक्छ ।’ उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा चितवनको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन ।

उनले थपे, ‘केही समयदेखि चितवन प्रजातान्त्रिक आन्दोलनभन्दा अलग बाटोबाट हिँडिरहेको छ । यो कांग्रेसकै केन्द्रीय नेतृत्वका कारण भएको हो । यसको नतिजा चितवनमा कांग्रेसको सङ्गठन कमजोर हुँदै गएको छ । यसलाई बलियो बनाउन सबै एकजुट हुनुपर्छ ।’ उनले यहाँका क्षेत्र, पालिका, वडामात्र नभई टोलमा समेत व्यक्तिवादी चरित्र हाबी हुँदा पार्टी सङ्गठन कमजोर हुँदै गएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us