
काठमाण्डु, २३ मंसिर– काठमाण्डुको नागढुंगामा स्थानीय र प्रहरीबीच झडप भएको छ। हिजो शुक्रबार ट्रकको ठक्करबाट स्कुटरमा सवार स्थानीय महिलाको उपचारको क्रममा मृत्यु भएपछि शनिबार बिहानदेखि स्थानीयले सडक अवरूद्ध गरेका थिए ।
अवरूद्ध सडक खुलाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिएका छन । झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फका केही घाइते भएको पनि प्रहरीले जानकारी दिएको छ । प्रहरीले चन्द्रागिरी नगरपालिका–२ का वडाध्यक्ष भाइकृष्ण तामाङसहित ८र९ जनालाई नियन्त्रणमा लिएको एसपी ढुंगेलले जानकारी दिएका छन ।
अहिले नागढुंगामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। सवारी आवागमन पनि दुइतर्फी नै सञ्चालनमा आएको प्रहरी वृत्त थानकोटका डिएसपी नारायण अधिकारीले जानकारी दिएका छन । शुक्रबार दिउँसो ३ बजे चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा कलंकीबाट नागढुंगा जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई सोही तर्फ जाँदै गरेको प्र ३–०१–००६ ख १३०८ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट स्कुटरमा सवार चन्द्रागिरी९२ नागढुंगा बस्ने ४० वर्षीय श्रीधर भूर्तेल र उनकी श्रीमती अस्मिता भण्डारी गम्भीर घाइते भएका थिए ।
उनीहरूलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा अस्मिताको शुक्रबार अपराह्न साढे ४ बजे उपचारकै क्रममा मृत्यु भएको थियो । घटनापछि प्रहरीले ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर थानकोट वृत्तमा राखेको छ । ट्रकको ठक्करबाट ज्यानै जाँदासमेत ट्रकसँग सम्बन्धित व्यक्तिहरूले पीडित पक्षसँग छलफल नगरेको भन्दै स्थानीय आन्दोलित भएका हुन्।