
काठमाण्डु, २० मंसिर- बहालवाला प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा कार्यरतहरु नै अवैध बाटोबाट रुसी सेनामा भर्ती हुन जाने गरेको खुलासा भएको छ ।
नेपालीलाई अवैध बाटोबाट रुसी सेनामा पठाउने कार्यमा संलग्न १२ जना पक्राउ परेसँगै उक्त खुलासा भएको हो । जिल्ला प्रहरी परिसर काठमाण्डुले पक्राउ परेकाहरुलाई बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा उदयपुरका ४२ वर्षीय हरिबहादुर विश्वकर्मा, काठमाण्डुका सन्तोष रोका, २३ वर्षीय रोजल महर्जन, ३१ वर्षीय क्षितिज गिरी, सिन्धुपाल्चोकका २३ वर्षीय मनिष न्यौपाने, सिराहाका १९ वर्षीय दिपेन परियार, काभ्रेका २९ वर्षीय सुवास लामा, चितवनका २५ वर्षीय गोकर्ण अर्याल, बाराका २४ वर्षीय सन्तोष नेपाल, ओखलढुंगाका २५ वर्षीया सुजाता दाहाल, लमजुङका ३५ वर्षीय ईश्वर अधिकारी र दाङका द्रोण डाँगी छन् ।
रुस युक्रेन युद्धपछि नेपालीहरु अवैध बाटोबाट रुसी सेनामा भर्ती हुन जाने गरेको केही समयअघि खुलेको थियो । सरकारले रुस र युक्रेन दुवैसँग सैन्य भर्तीसम्बन्धी सम्झौता नभएकाले त्यसरी नजान अपिल गरेको छ । गत असार यता रुसी सेनामा कार्यरत ६ नेपालीको युद्धका क्रममा मृत्यु भइसकेको छ । एक जना युक्रेनी सेनाको नियन्त्रणमा रहेको मस्कोस्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।
पक्राउ परेकामा मेनपावर व्यवसायीसमेत रहेका हरिबहादुर, सुजाता र ईश्वर प्रमुख व्यक्ति भएको काठमाण्डु परिसरका प्रमुख एसएसपी भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए । खत्रीले यो गिरोहले हालसम्म १८ नेपालीलाई विभिन्न माध्यमबाट पठाइसकेको जानकारी दिए । उनका अनुसार गिरोहले नयाँदिल्ली, युएई हुँदै भ्रमण भिषामा रुस पठाउने गरेको छ । रुस पुगेका मध्ये ११ जना भने स्वदेश फर्किएको उनले बताए । त्यसरी गएकामा प्रहरी र सेनाका कर्मचारीसमेत रहेको खत्रीको भनाइ थियो । दलालहरुले प्रत्येकबाट ८ लाखका दरले रकम उठाएको र माशिक दुई लाखसम्म पारिश्रमिक पाइने आश्वासनमा नेपालीलाई रुस पठाउने गरेको पनि खुलेको छ । खत्रीले नेपालीहरु ठूलो संख्यामा रुसी सेनामा भर्ती भएको बताए । त्यसमध्ये अधिकांश सेना, प्रहरी र सशस्त्र प्रहरीबाट सेवा निवृत्त भएका र केही बहालवालासमेत रहेको प्रहरीले जनाएको छ ।