प्रधानमन्त्रीलाई मन्त्री र कर्मचारीले सहयोग गरेनन्: पूर्व सभामुख सापकोटा

काठमाण्डु टुडे २०८० मंसिर २० गते १८:३० मा प्रकाशित

काठमाण्डु, २० मंसिर–पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्न खोजेको काममा सरोकारवालाले सहयोग नगर्दा समस्या आएको बताएका छन ।

आज (बुधबार) भक्तपुरमा आयोजीत अन्तरक्रिया कार्यक्रममा उनले मन्त्रिमण्डलमा रहेका मन्त्रीहरूले नै प्रधानमन्त्रीलाई सहयोग नगरेको बताएका छन ।उनले भने, ‘जनताको अपेक्षा अनुसारको विकास निर्माण र चाहना पूरा गर्न सिङ्गो मन्त्रिपरिषद् परिचालन हुन सकेन, प्रधानमन्त्रीले धेरै काम गर्न खोज्नु भयो, तर मन्त्रिमण्डलमा रहेका मन्त्रीहरुले उहाँलाई सहयोग गरिरहेका छैनन्, कर्मचारीले त झनै सरकारलाई सहयोग गरेका छैनन्, त्यसैले सरकारलाई काम गर्न समस्या परिरहेको छ।’

उनले भूकम्पपीडितलाई राहत वितरण र उद्धारमा प्रधानमन्त्री एक्लैले धेरै प्रयास गरेको उल्लेख गर्दै सम्बन्धित निकायले सहयोग नगर्दा राहत नपाएर मृत्यु भएका दुःखद घटना सुन्न परेको पनि बताएका छन ।

उनले नेपाली सेनालाई राहत वितरणको जिम्मेवारी दिने सरकारको निर्णय राम्रो भएको जनाउँदै उनले सरकारले जनताको गुनासो र आलोचनालाई भने सम्बोधन गर्नुपर्ने पनि बताएका छन । उनले जनताको आवाज बुलन्द गर्नुपर्ने संसद् अहिले अलमलिएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us