औषधि पसललाई मापदण्डभित्र आउन काठमाण्डु महानगरपालिकाको निर्देशन

काठमाण्डु टुडे २०८० मंसिर २० गते १४:३३ मा प्रकाशित

काठमाण्डु, २० मंसिर–काठमाण्डु महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका धेरै औषधि पसल मापदण्ड विपरीत रञ्चालमा रहेको जनाउँदै ती पसललाई मापदण्डमा आउन १० दिनको समय अवधि दिएको छ ।

महानगरपालिकाको स्वास्थ्य विभागले आज सार्वजनिक सूचना जारी गर्दै सो समय दिएको हो । विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अनधिकृत व्यक्तिबाट औषधि बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको ‘प्रेस्किप्सन’बिना औषधि बिक्री वितरण भइरहेको पाइएकाले आगामी दश दिनभित्रमा सबै औषधिपसललाई मापदण्डमा आउन निर्देशन गरिएको छ । ’

तोकिएको समयसीमापछि पनि ‘यस्ता लापरबाही देखिए, भेटिए वा सुधारको सङ्केत देखिएन भने गलत गर्नेलाई ऐनले दिएको अधिकार प्रयोग गर्दै औषधि पसल बन्द गर्नेसम्मको कारबाही गर्ने महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिएका छन । विभागले औषधि पसलको अनुगमन गर्दा संवेदनशील प्रकारका त्रुटी देखिएको पनि जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us