८० प्रतिशत हिन्दू भएको भारतले हिन्दू राष्ट्र घोषणा गरोस् न त भन्ने जवाफ दिएको छुः प्रचण्ड

काठमाण्डु टुडे २०८० मंसिर १८ गते १९:२० मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामा पुनर्विचार नगरिने बताएका छन् ।

सञ्चार माध्यमका सम्पादकहरुसँग सोमबार सिंहदरबारमा भएको अन्तरक्रियामा उनले संघीयता र धर्मनिरपेक्षता लोकतान्त्रिक गणतन्त्रको अभिन्न अंग भएको बताए । प्रचण्डले प्रमुख राजनीतिक शक्तिका बीचमा ती एजेण्डामा कुनै मतभेद नरहेको स्पष्ट गरे ।

प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलील सार्वजनिक रुपमै धर्मनिरपेक्षताबाट पछि हट्न नसकिने बताएको र काँग्रेस केन्द्रीयकार्य समिति बैठकले पनि एकमतले त्यसमा प्रतिबद्धता जनाएको बताए ।
प्रचण्डले संविधानले नै राज्यको कुनै धर्म नहुने तर सनानतदेखि चल्दै आएका धर्मको रक्षा राज्यले गर्ने प्रतिबद्धता गरिएको स्मरण गराए । उनले भारतको नाम उल्लेख नगरी सांकेतिक रुपमा भारतले नेपालमा हिन्दू राष्ट्र बनाउन सुझाव दिएको बताए ।

भारतीयहरुले चासो राख्दा आफूले ८० प्रतिशतभन्दा बढी हिन्दू भएको देशमा पहिला धर्मनिरपेक्षता हटाएर हिन्दू राष्ट्र राख्नु भन्ने जवाफ दिने गरेको उनको भनाइ थियो ।

‘डेढ अर्ब जनसंख्या भएको देशमा ८० प्रतिशत हिन्दू छन् । तपाईंहरुले नै संविधानमा हिन्दै राष्ट्र राखे भइहाल्यो नि भन्ने जवाफ दिने गरेका छौं’, उनले भने । प्रचण्डले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ भन्नेहरुले नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएको बिर्सन नमिल्ने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us