
काठमाण्डु, १८ मंसिर– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्गा प्रसाईंसहित व्यवस्था र संविधानविरोधी समूहका आन्दोलन सरकारले बुद्धिमत्तापूर्ण ढंगले असफल पारेको दाबी गरेका छन् ।
सरकारले दमनबिनै राजतन्त्रका लागि भएको भनिएको आन्दोलन असफल परेको उनको भनाइ थियो । ‘दमन गरेको भए फेरि सरकारबाट विरोध गर्ने लोकतान्त्रि अधिकारमा अतिक्रमण भयो भन्ने हुन्थ्यो’, सञ्चार माध्यमका सम्पादकहरुसँग सोमबार सिंहदरबारमा उनले उनले भने, ‘नियन्त्रण नगरिएको भए पनि तोडफोड हुन सक्थ्यो । बीचको बाटोबाट आन्दोलनलाई मत्थर पारिएको छ ।’
प्रसाईंको आन्दोलनमा राप्रपा सांसद् ज्ञानबहादुर शाहीको घुसपैठ भएका कारण पनि सरकारलाई नियन्त्रणमा लिन सहज भएको टिप्पणी उनको थियो । शाहीले बल्खुमा बसेर नहुने भन्दै सिंहदरबार घेर्न जानुपर्ने भनेर भड्काएकाले प्रसाईंको आन्दोलन कमजोर भएको निस्कर्ष प्रचण्डले सुनाए ।
उनले राजावादीहरुका बीचमै फाटो रहेकाले उनीहरुले चाहँदैमा आन्दोलन नउठ्ने बताए । दुर्गा प्रसाईंजस्ता मानिसहरुलाई अघि सारेर राजतन्त्र फिर्ता गरौंला भन्ने नसोच्न पनि उनले आग्रह गरे ।