
काठमाण्डु, १७ मंसिर– नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका ३ जनाले उच्च अदालत पाटनले तोकेको धरौटी बुझाएका छन ।
उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मङ्सिर १५ मा तोकेको धरौटी ३ जनाले बुझाएका हुन् । धरौटी बुझाउनेमा शमशेर मियाँ, नरेन्द्र केसी र हरिभक्त महर्जन रहेका छन ।
आइतबार उनीहरूले जिल्ला अदालत काठमाण्डुमा गएर धरौटी रकम बुझाएका अदालत स्रोतले जानकारी दिएको छ । धरौटी रकम बुझाएसँगै उनीहरूलाई थुनामुक्त गर्ने प्रक्रिया सुरु गरिएको छ ।
नरेन्द्र केसी तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव हुन् । शमशेर मिया हज कमिटीका संयोजक हुन् । नरेन्द्र केसीलाई उच्च अदालतले १० लाख, हरिभक्त महर्जनलाई १५ लाख र शमशेर मियाँ सँग १० लाख धरौटी लिन आदेश गरेको थियो । उच्च अदालतले ८ जनालाई थुनामै राख्ने उच्च अदालतको आदेश सदर गर्दै अन्यलाई धरौटीमा छाड्न आदेश गरेको थियो ।