
काठमाण्डु, १६ मंसिर– पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल एमाले केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको बताएका छन ।
आज (शनिवार) महाकाली–मेची अभियानअन्तर्गत अछाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले एमालेले सरकार छोडेपछि भ्रष्टाचार, तस्करी, मौलाएको बताएका छन ।
उनले भने, ‘म एमालेका नेता कार्यकर्ताहरुलाई भन्न चाहन्छु, अहिले पनि अरू पार्टीमा अलमलिएर रहेका साथीहरूलाई नेकपा एमालेमा आमन्त्रण गर्नुस् । एमालेले सरकार छोडेपछि देशको अवस्था के भयो ? सबैले देख्नुभएको छ । बुझ्नुभएको छ ।
देश ओरालो लागेको छ, देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र यस्तो फैलिएको छ । भ्रष्टाचार, तस्करी, मौलाएको छ । सरकारले गुण्डागर्दी र अपराधीहरूलाई संरक्षण गरेर त्यसको विकास भइरहेको छ । यस्तो अवस्थामा यस स्थितिबाट परिवर्तन गर्नका लागि हामीले देख्यौँ, नेकपा एमाले बाहेक अरू कुनै पार्टीले यो देशलाई अघि बढाउने कामको नेतृत्व गर्न सक्दैन ।’ अध्यक्ष ओलीले एमालेको ध्येय नेपाल र नेपालीलाई समृद्ध बनाउने रहेको बताएका छन ।
उनले समृद्ध नेपाल बनाउन सिङ्गै देशको विकास हुनुपर्ने उल्लेख गर्दै नेपाल जस्तो प्राकृतिक सुन्दरता, उर्वरता र खनिजहरूले सम्पन्नता भएको देश गरिब रहन सक्ने देश नभएको बताएका छन ।