
काठमाण्डु, ५ मंसिर–मेडिकल व्यवसायी दुर्गा प्रसाईंको झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालले आगलागीमा घाइते भएका बिरामीलाई बन्धक बनाएको खुलासा भएको छ ।
कोशी प्रदेशसभाको मंगलबारको बैठकमा प्रसाईंको अस्पतालले आगलागीमा जलेर जीवनमरणको अवस्थामा रहेका बिरामीलाई बन्धक बनाइएको भन्दै आवाज उठेको हो ।
सांसद् उमाकान्त गौतमले प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै तिहारको समयमा उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएका १० जना बिरामीलाई अस्पतालले बन्धक बनाएको आरोप लगाए । अस्पतालले आगोले जलेका बिरामीको उपचार नहुने भए पनि अन्यत्र रेफर गर्न नदिएर एक दिनसम्म बिरामीलाई बन्धक बनाएको आरोप उनको थियो ।
अस्पतालले बिरामीलाई बन्धक बनाएका कारण उपचारका लागि काठमाण्डु लैजान एक दिन ढिला भएको उनले बताए । एक दिन उपचारमा ढिलाई हुँदा एक जनाले ज्यानसमेत गुमाएको गौतमले जानकारी दिए । उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको कीर्तिपुरस्थित वर्न हस्पिटल मंगलबार बिहान मृत्यु भएको थियो ।
उर्लाबारी नगरपालिका– ७ इटहरा रोडस्थित एक सुनचाँदी पसलमा गत २७ कात्तिकमा आगलागी भएको थियो । आगो निभाउने क्रममा सिलिण्डर विष्फोट हुँदा चार प्रहरीसहित २८ जना घाइते भएका थिए । घाइतेमध्ये तत्कालको उपचारका लागि १० जनालाइ बी एण्ड सी लगिएको थियो । २४ जना गम्भीर घाइते लिन २८ कात्तिकमा सेनाको हेलिकोप्टर गएको थियो ।
तर, पैसा नतिरेको भन्दै बी एण्ड सी अस्पतालले थप उपचारका लागि बिरामी काठमाण्डु आउन दिएन । कोशीका मुख्यमन्त्री केदार कार्की आफैं गएपछि मात्र बी एण्ड सीले बिरामी छाडेको थियो ।
‘घाइतेमध्ये दुई जना बिरामीलाई आफन्तले उपचारका लागि पट्न लिएर जानुभयो । बाँकी बिरामीलाई भोलिपल्ट तत्कालै उद्धारका लागि काठमाण्डुबाट सेनाको एयरट्रक मगाएर विर्तामोड र विराटनगरका अस्पतालमा रहेका सम्पूर्ण बिरामीलाई लिएर जाने व्यवस्थापन गरियो । तर बीचमा विर्तामोडको बीएण्डी अस्पतालले बरामीलाई डिस्चार्ज नदिएपछि जम्मा १४ जना बिरामीलाई मात्र सेनाको एयरट्रकमा राखेर वर्न अस्पताल कीर्तिपुरमा पठायौं,’ सांसद गौतमले भने ।
बी एण्ड सीले बिरामी दिन नमानेपछि अर्को दिन मुख्यमन्त्री कार्की आफैं अस्पताल गएर भद्रपुर एयरपोर्ट हुँदै १० बिरामीलाई काठमाण्डु पठाइएको उनले जनाए ।
जीवनमरणको लडाईँमा रहेका बिरामीलाई बन्धक बनाएर सरकारलाई चुनौति दिने अस्पतालप्रति आफूले खेद व्यक्त गर्ने गौतमले उल्लेख गरे । उनले अस्पतालले बन्धक बनाइएका कारण बिरामीको मृत्यु भएको घटनामा राज्यले कडा कदम चाल्नुपर्ने बताए ।